मंगलवार , फाल्गुण २६, २०८२
काठमाडौं, २६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकट र इरानसँगको अमेरिका–इजरायल युद्धका विषयमा निकै राम्रो टेलिफोन वार्ता भएको बताउनुभएको छ ।
सोमवार भएको उक्त वार्तामा आफ्ना रुसी समकक्षी मध्यपूर्वमा सहयोग गर्न इच्छुक रहेको ट्रम्पले उल्लेख गर्नुभयो । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले निकै राम्रो कुराकानी भएको र पुटिन निकै रचनात्मक रहेको बताउनु भयो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछिको यो पहिलो फोन वार्ता हो । सो अवसरमा दुई नेताबीच पाँचौँ वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्धको विषयमा पनि छलफल भएको ट्रम्पले जानकारी दिनुभयो ।
ट्रम्पले यस विषयमा सकारात्मक कुराकानी भएको बताउनुभएको छ । यसअघि सोमबार नै रुसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले दुई नेताबीचको कुराकानीलाई स्पष्ट र व्यावसायिक भन्दै यो वार्ता करिव एक घण्टा चलेको जानकारी दिनुभएको थियो ।
उसाकोभका अनुसार खाडी मुलुकका नेताहरू र इरानी राष्ट्रपतिसँगको परामर्शपछि राष्ट्रपति पुटिनले द्वन्द्वको द्रुत राजनीतिक र कुटनीतिक समाधानका लागि केही विचारहरू व्यक्त गर्नुभएको थियो ।
जवाफमा ट्रम्पले वर्तमान विकसित परिस्थितिको बारेमा आफ्नो मूल्याङ्कन प्रस्तुत गर्नुभएको थियो । दुई नेताबीच विश्वव्यापी तेल बजारको सन्दर्भमा भेनेजुएलाको विषयमा पनि संक्षिप्त चर्चा भएको उसाकोभले बताउनु भयो ।
सोमवार नै राष्ट्रपति पुटिनले रुसले बारम्बार चेतावनी दिँदै आएको स्मरण गराउँदै मध्यपूर्वको स्थितिलाई अस्थिर बनाउने प्रयासले अनिवार्य रूपमा विश्वव्यापी ऊर्जा बजारलाई जोखिममा पार्ने, मूल्य बढाउने र आपूर्ति सीमित गर्ने बताउनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij