सोमवार , फाल्गुण २५, २०८२
काठमाडौं, २५ फागुन । पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
अन्य ४० जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा जनाएअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण यी हताहती भएका हुन् ।
स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरूसँग सामेल भएका थिए । इजरायली लडाकु विमान र हेलिकप्टरहरूले पछि गाउँ र वरपरका क्षेत्रमा करिव ४० हवाई आक्रमण गरेका थिए ।
नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । यो उक्त समूहको पहिलो यस्तो आक्रमण थियो ।
त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ शुरु गरेको छ । लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न चेतावनी दिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij