आइतवार , फाल्गुण २४, २०८२
भैरहवा, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले पार्टीको नगर कमिटी अध्यक्ष पदबाट राजीनामासहित साधारण सदस्य समेत नरहनुका साथै राजनैतिक जीवनबाट आफू अलग भएको घोषणा गर्नुभएको छ ।
आफूले जनतासँग गरेको वाचाअनुसार नेकपा (एमाले) को रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार खिमलाल भट्टराईलाई प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा निर्वाचित गराउन नसकेको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको उहाँले बताउनुभयो ।
‘सम्पूर्ण कोशिषका बाबजुद खिमलाल भट्टराईलाई विजय गराउन नसकेकोमा अत्यन्तै दुःख लागेको छ, तथापी राजनितिमा हार हुँदैन भन्ने उहाँको भनाइमा सहमत छु, ’ज्ञवालीले भन्नुभयो ।
पार्टीको विभिन्न कमिटीमा रही पार्टी जीवनमा कार्य गर्दा साथ, सहयोग र योगदान गर्नुहुने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।
‘यस पालिका समेत रहेको रुपन्देही–५ बाट एमालेकातर्फबाट विकासप्रेमी, सालिन र सक्षम, लुम्बिनीलाई एउटा नयाँ दिशा दिन सक्ने भिजनरी नेतृत्व आदरणीय खिमलाल भट्टराई उम्मेदवारका रुपमा पाउँदा हामी अत्यन्तै खुसी भयौं र उहाँलाई विजय गराउन चुनावी मैदानमा होमियौ । मैले उहाँ जस्तो सक्षम नेतृत्वलाई जिताउन कुनै कसर बाँकी नराखी भुमिका खेले र जिताउन नसके एमालेको नगर अध्यक्ष पदसहित पार्टीको साधारण सदस्यसमेत नरहने र राजनैतिक जीवनबाटै अलग हुने पटकपटक चुनावी सभा बैठकहरुमा घोषणा गरेको छु, आदरणीय खिमलाल भट्टराईज्यू तपाईंले दिनुभएको माया, आत्मीयता, राजनैतिक ज्ञान र सहयोग सधैं स्मरणीय रहनेछ, पार्टीबाट अलग भए पनि तपाईको साथमा सधै रहनेछु ’ज्ञवालीले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij