आइतवार , फाल्गुण २४, २०८२
काठमाडौं, २४ फागुन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ ।
आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो ।
उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी नहुने पनि स्पष्ट पार्नुभयो । देशको विशेष र जटिल अवस्थामा सम्पन्न भएको निर्वाचनले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यसलाई नेपाली जनता, नेपाल राष्ट्र र संविधानको ठूलो विजय भएको बताउनु भयो । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा होइन, यो नागरिकको आत्मसम्मानको प्रतीक हो । लोकतन्त्रमा मूल शक्ति जनता हुन् । जनता नै सर्वोपरि हुन् । तसर्थ निर्वाचित जनप्रतिनिधिहरुले सदैव के हेक्का राख्नुपर्छ भने एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन ।
कानूनी रूपमा जनादेशको अवधि पाँच वर्षको भएपनि यसको नैतिक वैधता प्रत्येक क्षणमा जनताको विश्वासबाट पुनः अनुमोदित हुँदै जानुपर्छ । राज्य सञ्चालन गर्नेहरूले जनताको समर्थन र विश्वास आर्जन गर्दै अगाडि बढ्नुपर्छ । जनतालाई अपमान गर्ने, हियाउने वा शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुन्छ ।’
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण नेपाली जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई अवसर र स्रोतहरूमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा सम्मानयुक्त सहभागिता गराउनु नै आजको लोकतन्त्रको मूल अभीष्ट हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij