शनिवार , फाल्गुण २३, २०८२
भैरहवा, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले जनताले खोजेको आशा र विश्वास अब काममा बदल्ने बेला आएको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि शनिबार भैरहवामा मतदाताहरुलाई धन्यवाद दिदै उहाँले रुपन्देही–३ ले इतिहास रचेको बताउनुभयो । उहाँले जनताले आफूलाई अत्यधिक मतले जिताउनु आफ्नो मात्र नभइ समग्र रुपन्देहीबासीसँगै सम्पूर्ण देशबासीको जीत भएको बताउनुभयो । उहाँले जनतालाई शब्दमा धन्यवाद दिएर मात्र नपुग्ने धारणा राख्नुभयो ।
डा.थापाले जनताले मतमार्फत सुनामी लिएर आउनुभएको बताउनुभयो । उहाँले अहिलेको समय महत्वपूर्ण र संवेदनशील भएको बताउनुभयो । ‘रास्वपाप्रति जुन आशा र विश्वास हजुरहरुले देखाउनुभएको छ, त्यसको मर्मको बुझ्दै अघि बढ्छौं, ’उहाँले भन्नुभयो ।
उहाँले धेरै बोल्न नभइ काम गर्न र देशको मुहार परिवर्तन जनताले पत्याउनुभएको बताउनुभयो । जनताले यसपटक दिनुभएको म्याण्डेट अनुसार नयाँ सुनौलो नेपाल बनाउनेमा विश्वस्त रहेको उहाँको भनाइ छ । आगामी दिनमा पनि जनताको साथ पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मतदाताहरुले देशमा एउटा क्रान्ति ल्याउनुभएको उहाँले बताउनुभयो । यो देशमै बसेर केही गर्न सक्ने र सबै मिलेर देश बनाउनुपर्ने डा. थापाको भनाइ छ ।
रास्वपाका उम्मेदवार डा.लेखजंग थापा ५८ हजार ८ सय १४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij