२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

प्रदेश सभा सदस्यको जिम्मेवारी त्यागेका कन्हैया बनिया प्रतिनिधि सभामा

शनिवार , फाल्गुण २३, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, २३ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिइ प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका ३६ वर्षिय कन्हैया बनिया अब प्रतिनिधि सभामा देखिनुहुने भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै उहाँको संघीय संसद्को यात्रा सुरु भएको छ ।

    २०७९ सालको निर्वाचनमा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट उहाँ रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पाँचवर्षको कार्यकाल सकिनु अगावै प्रदेश सभा सदस्यबाट राजीनामा दिइ निर्वाचनमा होमिनुभएका बनिया प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

    उहाँले २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित पूर्वमन्त्री समेत रहनुभएका सर्वेन्द्रनाथ शुक्ला र २०७४ सालमा निर्वाचित प्रमोद कुमार यादवलाई पराजित गरी निर्वाचित हुनुभएको छ । २०७९ सालमा लोसपाबाट बनिया प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा शुक्ला सोही पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    निर्वाचन अधिकृत टोप बहादुर बिष्टले २८ हजार ६६ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुनुभएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४ सय १० र जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले २ हजार ७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।