शुक्रवार , फाल्गुण २२, २०८२
भैरहवा, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्रहरीले देशव्यापी रूपमा व्यापक सुरक्षा योजना लागू गर्दै प्रभावकारी परिचालन गरेका कारण शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरीले पहिलो प्रतिकारकर्ता (फस्र्ट रेस्पोन्डर) तथा सुरक्षाको पहिलो तह (फस्र्ट लेयर) का रूपमा जिम्मेवारी निर्वाह गर्दै देशभर सुरक्षा व्यवस्था सुदृढ बनाएको हो । निर्वाचन सुरक्षा व्यवस्थापनका लागि प्रहरी नेतृत्वबाट निरन्तर स्थलगत अनुगमन, निर्देशन तथा समन्वय गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन विशिष्ट श्रेणीदेखि कनिष्ठ दर्जासम्मका प्रहरी कर्मचारीलाई गतिशील र उर्जाशील रूपमा परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नेतृत्वको उत्कृष्ट व्यवस्थापकीय निर्णय तथा रणनीतिका कारण देशभर सुरक्षा व्यवस्था सुदृढ बनाउन सहयोग पुगेको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार निर्वाचन सुरक्षाको तयारीका क्रममा पूर्व प्रहरी वरिष्ठ अधिकृत, सुरक्षा विज्ञ तथा सरोकारवालासँग अन्तरक्रिया गरी आवश्यक सुझाव संकलन गरिएको थियो । साथै खटिएका प्रहरी कर्मचारीको मनोबल उच्च राख्न विभिन्न प्रेरणादायी कार्यक्रम तथा निर्देशनसमेत दिइएको बताइएको छ ।
निर्वाचन अवधिभर भ्रामक सूचना, अफवाह तथा उत्तेजनात्मक सामग्रीको निगरानीका लागि सबै जिल्लामा ‘सोसल मिडिया मोनिटरिङ सेल’ स्थापना गरिएको थियो । त्यसै गरी केन्द्रीय स्तरमा ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स सेल’ स्थापना गरी डिजिटल तथा सूचना विश्लेषण प्रणाली सुदृढ बनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘इलेक्सन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ तयार गरी कार्यान्वयन गरिएको र रियल टाइम डिजिटल सर्भिलान्स (सीसीटीभी, ड्रोन तथा बडी वर्न क्यामेरा) को प्रयोगबाट संवेदनशील क्षेत्रको निगरानी गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न वा संलग्न हुन सक्ने व्यक्तिहरूलाई समयमै पहिचान गरी कानूनी कारबाही तथा नियन्त्रणको व्यवस्था गरिएको थियो । साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गतिविधिमाथि निगरानी राखी आवश्यक कारवाही गरिएको बताइएको छ ।
नेपाल सरकारबाट प्राप्त स्पष्ट कार्यादेश तथा निर्देशनअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिएको र निर्वाचन आयोगसँग निरन्तर समन्वय तथा सहकार्य कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृह मन्त्रालयको नेतृत्वदायी भूमिकामा सुरक्षा तयारी तथा परिचालनलाई थप सुदृढ बनाइएको पनि उल्लेख गरिएको छ ।
त्यसै गरी नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायबीच उत्कृष्ट समन्वय कायम गर्दै सुरक्षा संवेदनशीलता अनुसार सूचना संकलन, विश्लेषण तथा एकीकृत निर्वाचन सुरक्षा योजना अनुरूप देशव्यापी परिचालन गरिएको थियो । जोखिम, सम्भावित खतरा तथा संवेदनशीलताको विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति अपनाइएको प्रहरीको भनाइ छ ।
संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षा व्यवस्था र विशेष निगरानी कायम गरिएको थियो भने मतदानस्थल, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षाका लागि बहुस्तरीय सुरक्षा घेरा बनाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन अवधिभर देशभर निरन्तर अनुगमन तथा निर्देशन जारी राखिएको र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्भावित विवाद, झडप तथा अवरोधहरूलाई समयमै नियन्त्रण गरी शान्तिपूर्ण वातावरण कायम गरिएको र निर्वाचन प्रक्रियामा संलग्न कर्मचारी, मतदाता तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गरिएकोले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेपाल प्रहरी सूचना तथा अन्वेषण शाखा काठमाडौंले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij