बुधवार , फाल्गुण २०, २०८२
जनकपुर, २० फागुन । जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ ।
त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला नगरी आज रङ र अबिरको सागरमा डुबेको छ । बिहानैदेखि युवा, वृद्ध र बालबालिकाहरू टोलटोलमा निस्किएर एकअर्कालाई रङ दल्दै शुभकामना साटासाट गरिरहेका छन् । मिथिलामा होलीको आफ्नै विशिष्ट महत्व छ । १५ दिने मिथिला मध्यमा परिक्रमा हिजो जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको थियो ।
परिक्रमाका यात्रीहरूले विश्राम गरेपछि आज विधिवत रूपमा होली मनाइएको हो । जानकी मन्दिर, राम मन्दिर र विदेह नगरपालिकाका विभिन्न स्थानमा विशेष पूजाआजा समेत गरिएको छ । होलीको अवसरमा जनकपुरधामका सडकहरूमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएका छन् ।
परम्परागत ढोल, झ्याली र मृदङ्गको तालमा झुम्दै मानिसहरूले मिथिलाको लोकगीत ‘होरी’ गाउँदै रमाइलो गरेका छन् । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष शतर्कता अपनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij