२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

अण्डाको मुल्य हालसम्मकै उच्च

मंगलवार , बैशाख २१, २०७८

बुटवल, २१ वैशाख । 
प्रतिकुल मौसमका कारण रोग लागेर कुखुरा मर्न थालेपछि यता कुखुरा व्यवसाय धरासायी बन्दै गएको छ भने उता अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । एच.९ र रानीखेत लगायतका विभिन्न पंक्षीजन्य रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि अण्डाको मूल्य बढेको कुखुरा तथा अण्डा उत्पादकहरुको भनाइ छ । 

कुखुराको दाना लगायत दानाको कच्चा पदार्थमा समेत उच्चदरको मुल्यवृद्धि भएकोले एकातिर लागत मुल्य बढेको छ भने अर्कोतिर भटाभट कुखुरा मरेका कारण व्यवसाय नै धरापमा परेको उनीहरु बताउँछन् । रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् ।

लागत मूल्य अत्याधिक बढेका कारण कुखुरा र अण्डाको मूल्य बढेको भए पनि उत्पादक कृषकहरुलाई भने उल्लेख्य मुनाफा नहुने नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण ओली बताउँछन् । ओलीका अनुसार आजदेखि कुखुरा फार्ममा ठूलो अण्डा प्रतिक्रेट ३ सय ७० रुपैयाँ र मध्यमको ३ सय ४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको उनले बताए। 

ओली भन्छन, ‘चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३ सय ६५ रुपैयाँ पुगेको थियो । यसैवर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३ सय ६० पुगेकामा केही दिनपछि घटेको थियो ।

ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दा समेत उत्पादक कृषक र व्यवसायी लाभान्वित हुन सकेका छैनन् ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने गरेको दाबी गर्दै मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको अण्डा उत्पादक संघको दावी छ । संघ अनुसार नेपालमा करिब दुई हजार ७ सय किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् ।

नेपालका कुखुरा फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन भने यसक्षेत्रमा १ खर्ब २५ अर्ब भन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।