मंगलवार , माघ २७, २०८२
भैरहवा, २७ माघ । नेकपा (एमाले) कोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले एमालेले धेरै मतान्तरले निर्वाचन जित्ने दावी गर्नुभएको छ । उहाँले आगामी निर्वाचनमा रुपन्देही–३ मा मात्र नभइ अन्य ठाउँहरुमा पनि जितेर एमाले नेपालको सर्वाधिक ठूलो पार्टी बन्ने बताउनुभयो ।
सोमबार सिद्धार्थनगर नगरपालिका–७ मा पार्टीको निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा घिमिरेले भन्नुभयो–‘धेरै मतान्तरले निर्वाचन जित्दैछौं । हामी निर्वाचन जित्छौं, मज्जाले जित्छौं ।’
उहाँले विगतका केही निर्वाचनमा एमालेका नेता–कार्यकर्ता तथा नागरिकमा अर्को पार्टीको चुनाव चिन्हमा मतदान गर्ने बाध्यकारी स्थिति बन्दा एकखालको निराशा बनेको बताउनुभयो । ‘त्यतिबेला कार्यकर्ता र जनतालाई ठूलो पीडा भयो । तर, गठबन्धन र तालमेल हुँदा एमालेले अन्तरघात गरेन । नागरिकको विश्वास जित्यौं, यसपटकको निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा मतदान गर्ने परिस्थिति छ, ’घिमिरेले भन्नुभयो ।
एमालेका नेता–कार्यकर्ताहरु एकताबद्धका साथ अघि बढेको र अरु पार्टीमा सम्बद्ध व्यक्तिहरुले पनि तपाईहरुलाई हामीले किन साथ नदिने भनेर साथ दिइ लागिरहनुभएको उहाँको भनाइ छ । निर्वाचनपछि संविधानमा देखिएका विभिन्न् अड्चन खुलाउन संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका संस्थापक नगरप्रमुख र पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका घिमिरेले लिक भन्दा बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचनपछि संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘ममा कुनै दुविधा राख्नुपर्ने जरुरी छैन । लोभलालच केही छैन । दृढ इच्छाशक्तिका साथ अगाडि आएको छु । विगतका कामले पनि देखाएको छ स्थानीय सरकारको नेतृत्व, संघीय सांसद्को हैसियतले ३३ महिना काम गर्ने अवसर पाए । सर्वपक्षीय विकास र जनमुखी कानून निर्माणका लागि पनि मैले सकेसम्म राम्रो भूमिका निर्वाह गरे । संघीय सासद्मा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, भन्सार र सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने, युवा रोजगारी, किसान, उद्योगी, व्यवसायीले भोग्नुपरेको समस्या बारम्बार उठान गरेको छु । कतिपय माग सरकारले सम्बोधन पनि गरेको छ, घिमिरेले भन्नुभयो ।
केही दिनभित्रै संक्षेपमा निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गरिने उहाँले बताउनुभयो । नचाहिने कुरा नगरी बोलेका कुरा पूरा गर्न सकिने मात्र प्रतिवद्धता पत्रमा राखिने उहाँले बताउनुभयो । युवा रोजगारीका लागि योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
सरकारले निजी क्षेत्रलाई आकर्षण गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । युवाहरु दिनप्रतिदिन विदेश पलायन भइरहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । आफूले ३ वर्षदेखि दक्षिण कोरियामा दैनिक १८ घण्टासम्म श्रम गरेकोले युवाहरुले विदेशमा भोगेको पीडा नेपालमा रेमिट्यान्स पठाउनुहुन्छ भन्ने कुरा राम्रोसँग बुझेको उहाँले बताउनुभयो । युवाहरुलाई उचित सम्बोधनका लागि नीतिगत निर्णय गर्ने कुरामा आफ्नो चासो रहेको घिमिरेले बताउनुभयो । आफू किसानको छोरा पनि रहेकोले किसानले भोगेको समस्या राम्रोसँग बुझेको उहाँले बताउनुभयो ।
पार्टीका नेता गोविन्द प्रसाद रेग्मीले बासुदेव घिमिरेलाई उम्मेदवार पाउन यहाँका जनताका लागि सौभाग्यको कुरा हो । देशमा एमालेको विकल्प नरहेको उहाँले बताउनुभयो ।
एमाले रूपन्देही जिल्ला लेखा कमिटीका अध्यक्ष तथा सिद्धार्थनगर–७ चुनाव प्रचार–प्रसार समितिका संयोजक गोविन्द प्रसाद रेग्मीको अध्यक्षतामा तथा पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको एमाले सिद्धार्थनगर–७ कमिटीका अध्यक्ष बाबुराम भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
