२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

तिलोत्तमाका १ हजार ७ सय बढी किसानलाई दुधमा साढे ६१ लाख अनुदान

बुधवार , माघ २१, २०८२

  • 409
    Shares
  • 409
    Shares
  • भैरहवा, २१ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुपालक किसानहरुलाई उत्पादनमा आधारित दुधमा अनुदान दिएको छ । उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाको हलमा एक कार्यक्रमकाबीच १८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत १ हजार ७ सय ४९ किसानहरुको प्रतिलिटर २ रुपैयाँको दरले हुन आउने रकम करिब ६१ लाख १३ हजार ५ सय ९६ अनुदान वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभयो ।

    नगरभित्रका किसानले उत्पादन गरेको ३० लाख ५६ हजार ७ सय ९८ लिटर दुधको अनुदान स्वरुप सो रकम किसानहरुकै हातमा बुझाउने गरी सहकारीमार्फत पठाइएको प्रमुख मगरले बताउनुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले किसानहरुको प्रोत्साहनका लागि दुधमा अनुदान स्वरुप १ रुपैयाँबाट बढाएर प्रतिलिटर २ रुपैयाँ बनाइएको बताउनुभयो । 

    त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले किसानलाई थप उर्जा प्रदान गर्न हेर्दा सानो रकम भए पनि नगरपालिकाले दिएको अनुदानमा ठुलो खर्च भएकोले सही सदुपयोग गरी पशुपालनमा थप सक्रिय भएर लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले प्रदान गरेको अनुदानले किसानहरुलाई थप सहजता होस् र पशुपालनमा केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अनुदान दिइएको बताउनुभयो ।

    कार्यक्रममा १८ दुग्ध उत्पादक सहकारीको तर्फबाट केन्द्रिय दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य हरि काफ्लेले नगरपालिकाले दिएको अनुदानको प्रशंसा गर्नुभयो । उहाँले पशुपालक किसानहरुलाई दुध उत्पादन र पशुपालनमा धेरै समस्या भएको र आगामी दिनमा किसानको हितमा नगरपालिकाले छुट्टै लक्ष्य राखी बजेट बनाउन आग्रह समेत गर्नुभयो ।