२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

प्रमोद यादवको प्रतिवद्धता : मर्चवार रिंगरोड निर्माणदेखि सुविधासम्पन्न अस्पताल सञ्चालनसम्म

बुधवार , माघ २१, २०८२

  • 424
    Shares
  • 424
    Shares
  • भैरहवा, २१ माघ । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पाटी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले आफ्नो २५ बुँदे चुनावी प्रतिवद्धता घोषणा गर्नुभएको छ । मंगलबार मायादेवी गाउँपालिका–६ स्थित गुरवनियामा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले मर्चवारमा रिंगरोडदेखि कुस्ती एकेडेमी निर्माण गर्नेसम्मका योजनाहरु घोषणा गर्नुभएको छ ।

    यादवले बेथरीदेखि थुम्हवासम्मको चारलेन सडक र लुम्बिनी–मर्चवारी, मर्चवारी–भैरहवा जोड्ने सडकको स्तरोन्नति, मर्चवार लिफ्ट सिंचाईलाई व्यवस्थित गरी मर्चवारका खेतहरुलाई सिंचित गर्ने, मर्चवारीमा रहेको कृषि हाट बजारको व्यवस्थापन गर्ने र किसानको उत्पादन सिधै खरिद गर्ने व्यवस्था मिलाउने, सम्मरीमाईमा निर्माणाधिन शीत भण्डारलाई सम्पन्न गर्ने र सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन गर्ने र छोटी भन्सार सम्मरीमाईको तरेनी थुमुवामा खोल्ने योजना रहेको जानकारी दिनुभयो ।

    त्यस्तै राम्रो सुविधासम्पन्न अस्पताल सञ्चालन, हरेक पालिकामा १५ शैयाको अस्पताल, कोटमाईको मझगावामा रहेको डिग्री कलेजलाई व्यवस्थित गरी मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन, मर्चवार रिंगरोड निर्माण, तुनिहवादेखि बगौली, सेमरा, करौता हुँदै रोहिनिहवा, भगैयासम्म रिंगरोड निर्माण, भैरहवा विमानस्थलदेखि छपिया बजार हुँदै वनघुसरीसम्म र छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोन्नति, सम्मरीमाई चकियाघाटदेखि लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ जोड्न दानव नदीमा पक्की पुल निर्माण गर्ने उहाँको प्रतिवद्धता छ ।
    त्यसै गरी विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन, डुबान क्षेत्रको पहिचान गरी तटबन्ध गराउने, कुस्ती खेलको लागि मर्चवारमा स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्टस एकाडेमी निर्माण गरी नियमित सञ्चालन, शुद्ध खानेपानीको लागि घरघरमा खानेपानी संस्थानको धारा जडान, चोकचोकमा सार्वजनिक शौचालय र सार्वजनिक ठाउँमा वाईफाई सेवा, हरेक गाउँपालिकामा दमकलको व्यवस्थापन गरिने यादवले बताउनुभयो ।

    त्यस्तै तीनवटै पालिकाको पायक पर्ने गरी खेलकुद मैदान निर्माण, युवाहरुलाई खेलकुखमा जोड्ने गरी फुटबल, भलिबल र क्रिकेट अभ्यासको लागि विशेष कार्यक्रम सञ्चालन, मर्चवारी, कोटहीमाई, सम्मरीमाई, केवटलिया, समईमाईलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी नेपालको पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेशका लागि पहल, मर्चवारमा ग्रामीण पर्यटनको विभिन्न कार्यक्रम बनाइ किशोर, युवाहरुलाई सक्रिय बनाउने उहाँले बताउनुभयो ।

    जेनजी पुस्ताको जोश, जेनवाई पुस्ताको होशलाई साथमा लिएर समृद्ध मर्चवार, सुखी मर्चवारबासी अभियानलाई सफल बनाउने, मर्चवारलाई अन्न भण्डारको केन्द्रको रुपमा स्थापित गराई संघीय सरकारबाट विशेष कार्यक्रम सञ्चालन, किसानलाई मलखादको व्यवस्थापनमा सहजीकरण, मर्चवारमा सर्पदशं उपचार केन्द्र सथापना गरी सञ्चालन गरी उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।