२०८२, माघ २० गते

Feb 03 2026 | २०८२, माघ २० गते

निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिए : खिमलाल देवकोटा

मंगलवार , माघ २०, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौं, २० माघ ।वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताउनुभएको छ ।

    नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले पुराना दलहरुमा नै उत्साहित देखिएको बताउनुभएको हो । उहाँले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी गर्नुभयो । डा. देवकोटाकाअनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् ।

    उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन । जेन–जी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उहाँको दाबी छ । डा. देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाउनु भयो । 

    उहाँले भन्नुभयो, ‘पुराना दलहरु सबै फिल्डमा छन् । उनीहरुको उत्साह मैले नयाँ दलहरुको भन्दा कम देखेको छैन । बरु नयाँ दलहरु चाँही विभाजित जस्तो, कोही विरामीजस्तो । कतै चाहीँ कोलिसन गरौँ गरौँ भनेर प्रयत्न गरेजस्तो देखिन्छ ।

    जे ढंगले जेन–जी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर नयाँ दलमा चाँही असाध्यै बढी निराशा बरु देखिरहेको छ । पुराना दलहरुको बरु ८/१० लाख कमिटिहरु छन्, ज्ञारेन्टेड मतदाताहरु छन् । तर नयाँ दलहरुको लागी तिनको आधार केहो ? संगठन के हो ? सदस्यको आधार के हो ? भन्नेमा चाँही आंशका छ ।’ 

    उहाँले सबै राजनितिक दलहरु चुनावी मैदानमा होमिईसकेकोले निर्वाचन हुनेका भने कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताउनु भयो । निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँदली भएको भन्ने आरोप लगाउने चलन पनि पुरानै रहेको बताउनु भयो ।