२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

आजदेखि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता

सोमवार , माघ १९, २०८२

  • 151
    Shares
  • 151
    Shares
  • भैरहवा, १९ माघ । सोमबार (आज) देखि प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोतिा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा पहिलोपटक टाइटल स्पोन्सर राखेर छनोट प्रतियोगिता हुन लागेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।

    आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टीम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम प्रतयोगितामा सहभागी हुनेछन् ।

    संघका अध्यक्ष विनय राजभण्डारीले नेपाल क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितामा पहिलोपटक प्रायोजकहरुको साथ लिएर छनोट खेललाई थप व्यवस्थित बनाइएको बताउनुभयो । उहाँले कतिपय जिल्लाहरुलाई अझै समेट्न नसकिएको जनाउँदै क्यानबाट मान्यता दिलाउन पहल भइरहेको बताउनुभयो । 

    नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विगतमा लुम्बिनी प्रदेश मुलुककै क्रिकेटमा अब्बल सावित रहे पनि पछिल्लो समय विभिन्न उपाधि जित्नबाट चुकिरहेको बताउनुभयो । उहाँले यसपटक राम्रो मैदानमा छनोट खेल हुन लागेको, प्रशिक्षण र सुविधा समेत राम्रो रहेकाले प्रधानमन्त्री कप जित्ने विश्वास व्यक्त गर्नुभयो । मल्लले पछिल्लो समय प्रदेश क्रिकेट संघ समेत व्यवस्थित हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले हरेक दिन संघका कार्यक्रमहरु र प्रतियोगितालाई व्यवस्थित गरिएको बताउनुभयो । उहाँले यसपटक प्रदेशस्तरीय छनोट खेल अघि रुपन्देहीको टीम तयार गर्न पनि छनोट प्रतियोगितामार्फत् खेलाडी छनोट गरिएको बताउनुभयो । यसले राम्रा खेलाडीहरुले अवसर पाइराखेको र विवादरहित बनाएको थापाले दावी गर्नुभयो ।

    टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्सका प्रबन्धक राम बहादुर क्षेत्रीले हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको बताउनुभयो । उहाँले यसपटक पनि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमै आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    छनोट खेलको विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । 

    प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यसपटक प्रतियोगितालाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौंले प्रायोजन गरेका छन् । पत्रकार सम्मेलनमा जर्सी र ट्रफी समेत सार्वजनिक गरिएको थियो । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।