२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

नेपाल प्रहरी श्रीमती संघद्वारा बालगृहमा भोजनदान तथा खाद्यान्न वितरण

बिहिवार , माघ १५, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, १५ माघ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजनामा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा संघले उक्त कार्यक्रम गरेको हो ।

    संघको अध्यक्ष नविना खत्री कार्की र लुम्बिनी प्रदेश अध्यक्ष पूजा खत्रीले बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यस्तै अध्यक्ष खत्री कार्कीले आश्रममा रहेका बालबालिकालाई भोजन प्रदान गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै उहाँले आश्रममा सहयोग गर्न पाउँदा आनन्दको अनुभुति भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको आयोजना गर्ने अवसर प्रदान गरेको भन्दै सिद्धार्थ बालगृह र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख जनक बहादुर शाहीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघले आश्रम, बाढीप्रभावित लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । संघले यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताउनुभयो ।

    IMG_9437.JPG

     

    रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले यस्तो पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धार्थ बाल गृहलाई आफ्नो व्यक्तिगत र कार्यालयकोतर्फबाट क्षमता अनुसार आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ । नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष नविना खत्री कार्कीको समाजसेवा गर्ने चाहनामा थोरै होस्टेमा हैसे गर्न पाउँदा आफूहरु निकै नै हर्षित भएको बताउनुभयो । अध्यक्ष खत्री कार्कीको नेतृत्वमा बालगृहमा कार्यक्रम भएको र उहाँले भविष्यमा बालबालिकालाई शिक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु प्रशंसनीय गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

    620062279_1578261910508385_5557844485509077205_n.jpg

    सिद्धार्थ बालगृहको सञ्चालक कृष्णमाया गुरुड यो सहयोग मात्र नभइ आफूलाई यसले प्रेरणा समेत प्रदान गरेको बताउनुभयो । उहाँले बालगृहको लामो कथा भएको र यहाँका व्यक्ति र संघ–संस्थाहरुको हौसलाले आफू यहाँसम्म आइपुगेको बताउनुभयो । प्रहरी–प्रशासनबाट भएको सहयोगले आफू झन हर्षित भएको उहाँले बताउनुभयो । यो बालगृह कसरी चलिरहेको छ भन्ने राम्रोसँग बुझेर मात्र सहयोग गर्न उहाँको आग्रह छ । बालगृह भाडाको घरमा सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । सञ्चालक गुरुङका अनुसार हाल बालगृहमा १८ जना बालबालिकाहरु छन् । 

    प्रहरी सहायक निरीक्षक प्रतीक्षा खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।