सोमवार , माघ १२, २०८२
भैरहवा, १२ माघ । माण्डव्य सेवा समाज सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीले ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले मानवता सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । ‘आफ्नो खल्तीबाट पैसा निकाल्नुपर्छ । सबै मिलेर बनाउनुपर्छ । योजनाबद्ध तरिकाले अघि बढ्नुपर्छ । जनताको मतको कदर गरेर अघि बढ्नुपर्छ, ’उहाँले भन्नुभयो । विरोधका विरोध नगरी गलत कुराको विरोध र सहीको कुरा समर्थन गर्नुपर्ने उहाँको भनाइ छ ।
नगर उपप्रमुख उमा अधिकारीले माण्डव्य सेवा समाजका रचनात्मक कार्यमा नगरपालिकाको साथ र सहयोग रहने बताउनुभयो ।
माण्डव्य सेवा समाज सिद्धार्थनगरका अध्यक्ष लक्ष्मण ज्ञवालीले समाजले लाभ लिन सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने अभियानमा जुटेका बताउनुभयो । ‘निर्माण गरिने संरचनाहरु मानव हितका उपयोग हुने उद्देश्यले अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिका–७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले सामाजिक सोच र चिन्तनका साथ माण्डव्य सेवा समाज सिद्धार्थनगर अगाडि बढेको बताउनुभयो । ‘नगरपालिकाले गर्ने काम यो समाजले गरेको छ । सिद्धार्थनगर नगरपालिकाले केही न केही सहयोग गर्छ । हाम्रो पनि सामाजिक दायित्व छ, ’उहाँले भन्नुभयो ।
उद्योगी तथा समाजसेवी नारायण प्रसाद अग्रवाल सिद्धार्थनगर नगरपालिकासहित व्यक्ति तथा संघ–संस्थाले माण्डव्य सेवा समाजले सञ्चालन गर्ने कार्यक्रममा सहयोग गरेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
