आइतवार , माघ ११, २०८२
काठमाडौं ११ माघ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाईलीले काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गर्नुभएको हो ।
उहाँले काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनु हुँदै आन्तरिक समिकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताउनु भयो ।
अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गर्नुभयो ।
उहाँले आफूहरुले काँग्रेस बदलेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । सहमहामन्त्री रसाईलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताउनु भयो । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रिय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टी सभापति गगनकुमार थापा र श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरु देशभर एक ठाउँमा छौँ ।
हामीले पार्टीको आन्तरिक समिकरणलाई मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई काँग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली काँग्रेसले गरेको छ ।
काँग्रेसले केन्द्रिय समितिको बैठकबाट काँग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराकासाथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई काँग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उहाँको नेतृत्वमा हामी चुनावमा जान्छाँै ।
हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली काँग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ । हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरुको सुशसानको मुद्दालाई सम्बोधन गर्छौं ।
विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्नसक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रश्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली काँग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ ।
काँग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व ग¥यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरुको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रुपमा मिलाएर लैजानसक्नुहुन्छ ।’
उहाँले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गर्नुभयो । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईराला समूहका नेताहरु सबैले न्याय पाएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
