२०८२, माघ ११ गते

Jan 25 2026 | २०८२, माघ ११ गते

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

आइतवार , माघ ११, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • दाङ, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो ।

    प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ ।

    WhatsApp Image 2026-01-25 at 9.14.47 AM.jpeg

    लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित गरिनेछ ।

    तीन सिटका लागि आठजनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनबाट तीनजना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनजना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता भएको हो ।

    कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ । यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहनुभएको छ । झाँक्री एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत हुनुहुन्छ ।

    कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुंगा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहनुभएको छ ।

    नेकपाले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहनुभएको छ ।

    हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित हुनुभएको थियो ।

    लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता छन् ।