आइतवार , माघ ११, २०८२
भैरहवा, ११ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित मर्चहवामा शनिबारदेखि व्यवसायिक प्रशिक्षण शिविर सुरु भएको छ। रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले विश्व शिक्षा दिवसको अवसर पारेर ७ दिने निःशुल्क क्रिस्टलको माला, चुरा तथा औंठी बनाउने तालिम आयोजना गरेको हो ।
परीक्षा दिएर घरमै बसेका युवतीहरूलाई व्यवहारिक सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा १९ जना प्रशिक्षार्थीहरूको सहभागीता छ । तालिमका लागि ए.फोर. ट्रेडिङ सेन्टर प्रा.लि. भैरहवाले प्राविधिक सहयोग गराएको हो ।
कार्यक्रमका बोल्दै रोटरी सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले क्लबले समुदायको आवश्यकता पहिचान गरी शिक्षा, रोजगारी र सीप विकासलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले यस्ता सीपमूलक तालिमले युवतीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मूल नारालाई आत्मसात गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले विभिन्न क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको शर्माले बताउनुभयो ।
रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर रोटेरीयन शिव प्रसाद गौडेलले अनुशासनपूर्वक तालिममा सहभागी भइ तालिमको उपलब्धी हासिल गर्न अनुरोध गर्नुभयो ।
तालिम माघ १७ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक प्रेमराज शर्मा लोहनीले बताउनुभयो । उपेन्द्र यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
