शनिवार , माघ १०, २०८२
भैरहवा, १० माघ । रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित बनगाईमा खुल्ला वार्ड टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । युथ क्लब अफ मायादेवी–७ को आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई ४० रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको छ ।
टस जितेर लुम्बिनी साँस्कृतिक नगरपालिका–१ ले बलिङ रोज्यो । पहिला ब्याटिङ गरेको सिद्धार्थनगर नगरपालिका–४ ले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनायो । उसका लागि दीपक चौधरीले ५२, देवनारायण चौधरीले ४९, अजय यादवले ३० र मनिष यादवले १८ रन बनाउनुभयो । बलिङमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का अवधेश पाण्डेले २ र नारायणले १ विकेट लिनुभयो ।
जवाफमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले ९ विकेटको क्षतिमा १०१ रन बनायो । उसका लागि नारायणले २१, निरजले १८ र राजले १६ रन बनाउनुभयो ।
बलिङमा सिद्धार्थनगर–४ का ओसामा पठानका ४, कुशल केशरीले २ तथा इरफान, देवनाराण र गुल्जारले १/१ विकेट लिनुभयो ।
खेलमा म्यान अफ द म्याच देवनारायण चौधरी घोषित हुनुभएको शैलेश यादवले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को जीतले आफू निकै खुसी भएको नगर प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक रविन्द्र पाण्डे र सह–प्रायोजक प्रताप मौर्य रहनुभएको आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेता ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने रविन्द्र पाण्डेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
