२०८२, माघ १० गते

Jan 24 2026 | २०८२, माघ १० गते

रुपन्देही च्याम्पियन्स प्रधानमन्त्री कप रुपन्देही छनौट क्रिकेट प्रतियोगिता सुरु

शनिवार , माघ १०, २०८२

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, १० माघ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार (आज)देखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ‘रुपन्देही च्याम्पियन्स प्रधानमन्त्री कप रुपन्देही छनौट क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

    प्रतियोगिताको प्रमुख अतिथि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शेर बहादुर क्षेत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै क्षेत्रीले क्रिकेटको विकासका लागि रुपन्देही क्रिकेट संघले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । उहाँले क्रिकेट प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    त्यस्तै विशिष्ट अतिथि नेपाल अम्पायर्स एशोसियशनका अध्यक्ष समीर खानले क्रिकेट खेलको माध्यमबाट पर्यटन क्षेत्रको पनि विकास हुने बताउनुभयो । रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटा टीमको सहभागीता रहने संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो ।
    अध्यक्ष थापाका अनुसार रुपन्देही जिल्लाका उत्कृष्ट खेलाडीहरुलाई चारवटा टोलीमा विभाजित गरी राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ । उक्त टोलीहरु रुपन्देही रातो, रुपन्देही निलो, रुपन्देही हरियो र रुपन्देही पहेलो रहेको उहाँले जानकारी दिनुभयो ।

    ‘प्रतियोगिताको विजेता टोलीले ट्रफी पुरस्कार प्राप्त गर्नेछन्,’उहाँले भन्नुभयो–‘यो प्रतियोगिताबाट उत्कृष्ट १४ जना खेलाडीहरु छनौट गरी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लागि टीम तयार गरिनेछ ।’ उहाँका अनुसार प्रत्येक टीमले अनिवार्य तीनवटा खेल खेल्नेछन् । ‘यो प्रतियोगितामा ४८ जनाले खेल प्रदर्शन गर्नेछन्, उत्कृष्ट खेल प्रदर्शनका आधारमा नै हामीले जिल्ला टीम तयार गर्नेछौं, ’अध्यक्ष थापाले भन्नुभयो ।

    प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च लाग्ने प्रतियोगिताका संयोजक विजय सिंह ज्ञवालीले बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान) बाट १ लाख प्राप्त हुने र बाँकी १ लाख रुपन्देही क्रिकेट संघबाट व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । छनौट प्रतियोगिता भएकाले नगद राशीको पुरस्कार नराखिएको उहाँको भनाइ छ ।

    प्रतियोगिताअघि माघ ८ र ९ गते १०८ जना खेलाडीलाई सहभागी गरी प्रशिक्षण सञ्चालन गरिएको र त्यसबाट ४८ जना खेलाडी छनौट गरिएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले बताउनुभयो ।

    नेपाल क्रिकेट संघ (क्यान) का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले रुपन्देही क्रिकेट संघले पहिलोपटक यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । संघको यो प्रयास सराहनीय रहेको उहाँको भनाइ छ । प्रतियोगिता एकदिवसीय फर्मेटमा ५० ओभरको खेलाइने उहाँले जानकारी दिनुभयो ।

    WhatsApp Image 2026-01-24 at 10.08.39 AM.jpeg