शनिवार , माघ १०, २०८२
भैरहवा, १० माघ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार (आज) देखि भैरहवामा ‘रुपन्देही च्याम्पियन्स प्रधानमन्त्री कप रुपन्देही छनौट क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटा टीमको सहभागीता रहने संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो ।
अध्यक्ष थापाका अनुसार रुपन्देही जिल्लाका उत्कृष्ट खेलाडीहरुलाई चारवटा टोलीमा विभाजित गरी राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ । उक्त टोलीहरु रुपन्देही रातो, रुपन्देही निलो, रुपन्देही हरियो र रुपन्देही पहेलो रहेको उहाँले जानकारी दिनुभयो ।
‘प्रतियोगिताको विजेता टोलीले ट्रफी पुरस्कार प्राप्त गर्नेछन्,’उहाँले भन्नुभयो–‘यो प्रतियोगिताबाट उत्कृष्ट १४ जना खेलाडीहरु छनौट गरी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लागि टीम तयार गरिनेछ ।’ उहाँका अनुसार प्रत्येक टीमले अनिवार्य तीनवटा खेल खेल्नेछन् । ‘यो प्रतियोगितामा ४८ जनाले खेल प्रदर्शन गर्नेछन्, उत्कृष्ट खेल प्रदर्शनका आधारमा नै हामीले जिल्ला टीम तयार गर्नेछौं, ’अध्यक्ष थापाले भन्नुभयो ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च लाग्ने प्रतियोगिताका संयोजक विजय सिंह ज्ञवालीले बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान) बाट १ लाख प्राप्त हुने र बाँकी १ लाख रुपन्देही क्रिकेट संघबाट व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । छनौट प्रतियोगिता भएकाले नगद राशीको पुरस्कार नराखिएको उहाँको भनाइ छ ।
प्रतियोगिताअघि माघ ८ र ९ गते १०८ जना खेलाडीलाई सहभागी गरी प्रशिक्षण सञ्चालन गरिएको र त्यसबाट ४८ जना खेलाडी छनौट गरिएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले बताउनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले रुपन्देही क्रिकेट संघले पहिलोपटक यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । संघको यो प्रयास सराहनीय रहेको उहाँको भनाइ छ । प्रतियोगिता एकदिवसीय फर्मेटमा ५० ओभरमा खेलाइने उहाँले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
