२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

रुपन्देहीमा २१ महिला उम्मेदवार, सबैभन्दा धेरै क्षेत्र नम्बर २ बाट

बुधवार , माघ ७, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देहीमा १५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका हुन् ।

    मुख्य निर्वाचन अधिकृत कार्यालय, रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये २ जना महिला रहेका छन् । यो क्षेत्रमा जनमत पार्टीबाट निलु चौधरी र स्वतन्त्रबाट गिता सापकोटाले उम्मेदवारी दिनुभएको छ ।

    त्यस्तै २ मा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा सबैभन्दा बढी ११ जना महिलाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कर्भिका थापा, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु, सार्वभौम नागरिक पार्टीबाट कमला देवी गुरुङ्ग, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्र कुमारी गुरुङ्ग, स्वतन्त्रबाट उषा भट्टराई, कमला बोहरा, कमला शाह, विमला भट्टराई, सुशिला पुलामी, सिता कुवँर र सिता शाही रहनुभएको छ ।

    क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । यो क्षेत्रमा २ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट नन्द कुमारी थापा र स्वतन्त्रबाट अन्जना चौधरी रहनुभएको छ ।

    क्षेत्र नम्बर ४ मा २२ जनाले उम्मेदवारी दिएकोमा महिला ३ जना छन् । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट कमल कोजु, आम जनता पार्टीबाट ज्योती थापा र स्वतन्त्रबाट सशिकला पाण्डेयले उम्मेदवारी दिनुभएको छ ।

    क्षेत्र नम्बर ५ मा २७ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नेशनल रिपब्लिक नेपालबाट केशु रासकोटी मगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्दा थापा र स्वतन्त्रबाट बसन्ती चमार रहनुभएको छ ।

    सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो–‘विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरु पनि आउनुभएको थियो ।’ उहाँले निर्वाचनको कार्यक्रम अन्तर्गत मनोनयन दर्ता भइसकेपछि समग्र समुदाय, जिल्लाबासीहरु नै उत्साहपूर्वक निर्वाचनमा होमिनुभएको बताउनुभयो । निर्वाचनसम्बन्धी रहेका केही आशंकाहरु अब अन्त्य भएको उहाँको भनाइ छ ।

    रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४, २ मा १ लाख ३५ हजार ५०, ३ मा १ लाख ४० हजार ३५, ४ मा १ लाख १६ हजार १ सय ७२ र क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदान स्थल र ७३२ वटा मतदान केन्द्र छन् ।