२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

प्रतिनिधि सभा सदस्य निर्वाचन : रुपन्देहीमा मनोनयनमा उत्साह

बुधवार , माघ ७, २०८२

  • 517
    Shares
  • 517
    Shares
  • भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा सम्पन्न भएको छ ।

    मंगलबार जिल्लाका सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो ।

    समग्र सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ, ’उहाँले भन्नुभयो–‘विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरु पनि उम्मेदवारीका लागि आउनुभएको थियो ।’ उहाँले निर्वाचनको कार्यक्रम अन्तर्गत मनोनयन दर्ता भइसकेपछि समग्र समुदाय, जिल्लाबासीहरु नै उत्साहपूर्वक निर्वाचनमा होमिनुभएको बताउनुभयो । निर्वाचनसम्बन्धी रहेका केही आशंकाहरु अब अन्त्य भएको उहाँको भनाइ छ । 

    उहाँले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बस्नेतले निर्वाचन राजनीतिक दलको पर्वको रुपमा समेत रहेको बताउनुभयो । निर्वाचन पर्व भए पनि यसलाई बढी भड्किलो र खर्चिलो नबनाउन उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । आचारसंहिता उल्लंघन गरे दण्डनीय हुने बताउनुभयो । ‘निर्वाचन आचारसंहिता पालना गर्नु/गराउनु सरकारको पनि प्रमुख कार्य हो, सम्पूर्ण राजनीतिक दलले अक्षरस पालना गरे निर्वाचन शान्तिपूर्ण हुने कुरामा दुईमत रहदैन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन हामी कटिबद्ध छौं ।’
    मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीका अनुसार क्षेत्र नम्बर १ मा ३१, २ मा ४१, ३ मा ३६, ४ मा २२ र क्षेत्र नम्बर ५ मा २७ गरी १ सय ५७ जनाले मनोनयन दर्ता गराएका छन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उम्मेदवार, कर्मचारी र निर्वाचनमा खटिने सम्पूर्ण सरोकारवाला तथा व्यक्तिहरुको सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।
    नेपाली काँग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापाले निर्वाचनलाई शान्त र भयरहित रुपमा निष्पक्ष ढंगले सम्पन्न गर्न पार्टीकोतर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

    नेकपा (एमाले) रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख महेन्द्र गुप्ता (प्रशान्त) ले देशको विकास, रोजगारी सिर्जना, शिक्षा, कृषि, स्थानीय मुद्दा, भ्रष्टाचारको अन्त्य लगायतका विषय लिएर निर्वाचनमा होमिएको बताउनुभयो ।

    जनता समाजवादी पार्टी, नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले उत्पीडित समुदायको अधिकारको लागि आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले निर्वाचनमा होमिन जसपा नेपाल आतूर रहेको बताउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता शंकर खत्रीले फागुन २१ गते हुने निर्वाचनलाई राप्रपाले उत्सवको रुपमा लिएको बताउनुभयो ।

    रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४, २ मा १ लाख ३५ हजार ५०, ३ मा १ लाख ४० हजार ३५, ४ मा १ लाख १६ हजार १ सय ७२ र क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदान स्थल र ७३२ वटा मतदान केन्द्र छन् ।