२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

बुटवलका दुई व्यवसायीद्वारा आश्रममा न्यानो कपडा वितरण

मंगलवार , माघ ६, २०८२

  • 874
    Shares
  • 874
    Shares
  • बुटवल, ६ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित जिपी निर्माण सेवाका सञ्चालक  तथा परियार सेवा समाज रुपन्देहीका सह–कोषाध्यक्ष युवा समाजसेवी लिला बागदासले बुटवल–११ देवीनगरमा रहेको नेपाल अपांग आश्रममा न्यानो कपडा (स्वीटर) वितरण गर्नुभएको छ ।

    बागदासले आफ्नो बुवा स्वर्गीय उदयवीर बागदासको स्मृतिमा उनकी आमा पुतली बागदासलगायतको परिवारबाट सहभागी भइ आश्रममा रहेका ४५ जना व्यक्तिलाई  करिब २५ हजार बराबरको जाडोको कपडा स्वीटर आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गर्नुभएको हो ।

    बागदासले यसअघि पनि पर्वतमा अपांगता भएका व्यक्तिलाई १० हजार र सुर्खेतमा मृगौलारोगका बिरामीलाई ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको थियो ।

    त्यस्तै बुटवल–११ तिनकुनेमा रहेको न्यू सगरमाथा सर्टिङ्ग सुर्टिङ्ग एण्ड टेलरिङ शपका सञ्चालक सीताराम रणपालले समेत आफ्नास्वर्गीय बुबा खडक बहादुर रणपालको स्मृतिमा नेपाल अपांग आश्रममा करिब १५ हजार बराबरको एक सेट कम्बोट हस्तान्तरण गर्नुभएको छ । उहाँले यसअघि पश्चिम पाल्पाको रैनादेवी मन्दिरलाई १६ हजार, छहराको बोखहरडाडाको मन्दिरलाई ५ हजार १ सय र मृगौला पीडितलाई ५ हजार १ सय सहयोग गरेर मानवीय सेवामा प्रशंसनीय काम गर्दै आउनुभएको छ ।

    रणपालले व्यवसायको केही रकम सामाजिक कार्यमा लगाउँदा व्यक्तिको जीवनको रक्षा हुनुका साथै मानवीय सेवा हुने भएकाले यो कार्यमा निरन्तरता दिदै आएको बताउनुभयो ।

    हस्तान्तरण कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै मानवीय सहयोग नै ठूलो धर्म भएकोले पूण्य आर्जन गर्न कोही पनि मन्दिर धाउन नपर्ने बताउनुभयो । उहाँले सानो सहयोगले अन्य व्यक्तिलाई पनि सहयोग गर्न उत्प्रेरणा मिल्ने बताउँदै उक्त सहयोगको प्रशंसा गर्नुभयो ।

    त्यसै गरी नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले बोल्दै दुवै व्यवसायीहरुले गरेको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आश्रममा पछिल्लो समय सहयोग गर्नेहरुको संख्या कम भइरहेको बेला सहयोगी हातहरु बढ्दै जाँदा अत्यन्तै खुसी लागेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।