२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

आयोजकले जित्यो एभरेस्ट कप छात्रा भलिबलको उपाधि

बिहिवार , माघ १, २०८२

  • 160
    Shares
  • 160
    Shares
  • बुटवल, १ माघ । रुपन्देहीको बुटवलमा भएको ११ औं जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट इङलिस बोर्डिङ स्कूलले जितेको छ । एभरेष्टले न्यू होराइजन मावि बुटवललाई ३–० को सेटमा हराउँदै उपाधि जितेको हो । 

    एभरेष्टले २५–१४, २५–१८ र २५–१२ को सेटमा न्यू होराइजनलाई हराएको हो । उपाधिसँगै एभरेष्टले नगद ३० हजार रुपैयाँ शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक विद्यालय एभरेष्ट माविको खेलमैदानमा भएको खेलमा उपविजेता बन्दै न्यू होराइजनले नगद २० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । 

    झण्डै डेढ दर्जन प्रतिष्पर्धी समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कुवँरवर्ती इङलिस बोर्डिङ स्कुल, तिलोत्तमा तृतीय बनेको छ । कान्ति माध्यमिक विद्यालय, बुटवललाई ३–० को सेटमा हराउँदै कुवँरवर्ती तृतीय भएको हो । उसले तृतीय स्थान हासिल गर्दै नगद १० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । 

    त्यस्तै प्रतियोगितामा उत्कृष्ट कोचको उपाधि अर्जुन घिमिरेलाई, उत्कृष्ट खेलाडीका रुपमा मिना सुनार (एभरेष्ट), उत्कृष्ट लिवेरो रुपा लम्साल (एभरेष्ट), उत्कृष्ट स्पाइकर मनुरुमा डंगोरीया (कुवँरवर्ती), उत्कृष्ट ब्लकर ललिता बोहोरा (एभरेष्ट), उत्कृष्ट सेटर जानकी केसी (एभरेष्ट) र उत्कृष्ट सर्बरको उपाधि भारती विक (न्यू होराइजन) ले प्राप्त गरेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

    प्रतियोगितामा विजयी टीमलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्री देवी अर्यालले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिकसँगै बौद्धिक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा महिला खेलाडीहरुको सहभागीता र सँगै हुने प्रतिष्पर्धाले महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै एभरेष्ट माविले उल्लेख्य कार्य गरेको बताउनुभयो । उहाँले उपमहानगरले खेलकुद क्षेत्रको विकास र नगरभित्र रहेका खेलाडीको खेल क्षेत्रमा थप रुची बढाउन तथा विकास गर्न उपमहानगरले बजेटको व्यवस्था समेत गर्दै आएको बताउनुभयो । 

    एभरेष्ट मावि सञ्चालक समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समिति, बुटवलका संयोजक बोनिन पियाले खेल क्षेत्रमा विद्यार्थीको सहभागीताले राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा प्रदेश भलिबल संघ, लुम्बिनीका अध्यक्ष योग गुरुङले भलिबल राष्ट्रि«य खेल भएता पनि यसको विकासका लागि राज्यस्तरबाट प्रोत्साहनका कार्यक्रम नहुँदा खेलाडी उत्पादनमा समस्या आएको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रबाट आयोजना हुने यस्ता खेलले भलिबलको विकासमा सहयोग पुगेको बताउनुभयो । 

    कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष टीकाराम न्यौपाने, अभिभावक संघ, नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, जिल्ला भलिबल संघ, रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेगायतले विजयी टीम तथा विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । 

    यसैबीच विद्यालयमा भएको सप्ताहव्यापी खेल सप्ताह पनि सम्पन्न भएको छ । खेल सप्ताहमा विद्यालयको प्रारम्भिक तहदेखि मा.वि. तहसम्मका झण्डै २ हजार विद्यार्थीले विभिन्न विधामा प्रतिष्पर्धा गरेको शिक्षक माधव पौडेलले बताउनुभयो ।