२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब

मंगलवार , पौष १, २०८२

  • 907
    Shares
  • 907
    Shares
  • काठमाडौं, १ पौष । धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो वर्षको तुलनामा कम हो । बजारमा देखिएको उत्तारचढावले पुँजीकरणमा समेत असर पारेको हो । गत वर्षको कात्तिक मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रहेको थियो ।

    ०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा गत कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ । चालु आ.व.को कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत कम्पनीहरूको संख्या २८३ पुगेको छ ।

    सूचिकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंककाअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत कार्तिक मसान्तमा सूचिकृत ९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ८९ अर्ब ५३ करोड रहेको छ । यस्तै आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा १९ डिबेन्चर, २ अर्ब ४० करोड बराबरको बोनस सेयर अर्ब २ करोड बराबरको साधारण शेयर, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ५ अर्ब बराबरको म्युचुअल फण्ड, ३ अर्ब ४० करोड बराबरको र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल ३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्व ४३ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ३७ करोड बराबरको साधारण शेयर गरी कुल १६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।