२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

‘भारतीय ओभरलोड सवारीसाधनले यातायात व्यवसायी समस्यामा’

सोमवार , बैशाख १३, २०७८

बुटवल, १३ वैशाख ।
ट्रक व्यवसायीहरुले भारतीय ओभरलोड सवारीसाधनका कारण नेपालका यातायात व्यवसायी समस्यामा परेको गुनासो गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको आयोजनामा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र राज्यमन्त्री सुमन शर्मा रायमाझीको स्वागत कार्यक्रममा बोल्दै व्यवसायीहरुले भारतीय ओभरलोड सवारीसाधनले ढुवानी व्यवसायी समस्यामा परेको र नेपालको सडक, पुलमा समेत क्षति पुर्याएको बताएका छन् । तर यसलाई रोक्न भने सरकारले कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।

भारतीय सवारीसाधनसंग प्रतिष्पर्धा गर्न आफूहरुले नसक्ने र ओभरलोड सवारीसाधनलाई सीमा नाकामा नै व्यवस्थापन गर्न उनीहरुले सुझाव समेत दिए । 

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेयले भारतबाट खाद्यान्न तथा लत्ताकपडा बोकेर आउने ओभरलोड गाडीलाई भन्सारबाटै अनलोड गरी यहीका ट्रकबाट ठाउँठाउँमा पुर्याउन पहल गर्ने बताए ।ओभरलोड गाडीको समस्या पहिलेदेखि नै नेपालमा कायम रहेको बताउँदै   यसको लागि पहल गर्ने बताए ।

नेपाल ट्रक व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय मालवाहक सवारीसाधन नेपालमा निर्वाध रुपमा चल्न पाउने व्यवस्था नेपाली व्यवसायीको लागि घातक सावित भएको बताए । नेपालमा ७० हजार ट्रक रहेको र भारतीय गाडी नेपालमा चल्दा ५० प्रतिशत व्यवसायी कामबिहिन बनेको उनले जानकारी दिए । ओभरलोड गाडीले गर्दा सडक, पुलहरु ध्वस्त बन्दा समेत राज्यले यसलाई रोक्न कुनै कदम नचालेकोमा उनले दुःखेसो पोखे ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष गुप्त बहादुर केसीले स्वदेशका ट्रकले ओभरलोड बोक्दा कारवाहीको भागिदार हुनुपरेको तर भारतीय ट्रकले ओभरलोड बोक्दा समेत सरकारले कुनै कारवाही गर्न नसकेकोमा गुनासो पोखे । मुलुकको दुर्गम क्षेत्रसम्म खाद्यान्न तथा सामान पुर्याउँदै व्यवसायीले आफ्नो कर्तव्य पुरा गरे पनि सरकारले भने भारतीय ओभरलोड रोक्न नसकेको उनले बताए ।
त्यस्तै पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेयले यातायात क्षेत्रको अधिकार अहिले प्रदेश सरकारलाई आएको हुँदा प्रदेश सरकारले व्यवसायीका समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।
त्यसै गरी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव जीत बहादुर भाटले भारतीय भारवहन गाडीसंग नेपाली गाडीले प्रतिष्पर्धा गर्न नसक्ने बताए । भारतीय गाडीलाई पनि भारवहन मिलाएर मात्र नेपालमा गुड्न दिनुपर्ने उनले बताए ।