२०८२, मंसिर २१ गते

Dec 07 2025 | २०८२, मंसिर २१ गते

‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’ सुरु, उद्घाटन खेलमा सम्पुर्ण युवा क्लब विजयी

आइतवार , मंसिर २१, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा, २१ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा शनिबारदेखि ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२’ सुरु भएको छ । श्री भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँको आयोजना तथा सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
    आयोजक भैरव युवा क्लब पक्लिहवा, सिद्धार्थनगर र सम्पुर्ण युवा क्लब सुपौली, तिलोत्तमाबीच भएको उद्घाटन खेलमा सम्पुर्ण युवा क्लब विजयी भएको छ । आयोजक क्लबलाई टाईब्रेकरमा हराउँदै सम्पुर्ण विजयी भएको हो ।

    ७० मिनेटको निर्धारित खेल समयसम्ममा दुवै टीमले बराबर १–१ गोल गरेको थियो । सम्पुर्णका दिनेश गुरुङ र भैरव युवा क्लबका लागि सरुन थापाले १–१ गोल गर्नुभयो । त्यसपछि प्रदान गरिएको थप २ मिनेटमा पनि दुवै टीमले गोल गर्न सकेनन् । टाईब्रेकरमा भने समपुर्ण ४–२ ले विजयी बन्यो । जसमा सम्पुर्णले ४ र आयोजक भैरवको २ गोलपछि खेल निर्णायक हुन पुगेको हो ।

    उक्त खेलमा सम्पुर्णका खेलाडी सरोज पुन म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नुभयो । पुनलाई प्रतियोगिताको सम्पूर्ण खेलको म्यान अफ द म्याचका प्रायोजक ई–ड्राईभ लुम्बिनीका सञ्चालक राजकुमार गुप्ताले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

    प्रतियोगिता अन्तर्गत मंसिर २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटीपिपल, ओमसतिया र अञ्चलपुर युवा क्लब, अञ्चलपुरबीच हुने खेल संयोजक तेजेन्द्र (शक्ति) गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहने भैरव युवा क्लबका अध्यक्ष याम बहादुर थापा (माइला)ले जानकारी दिनुभयो ।

    रेफ्रिलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले ऐतिहासिक खेलमैदानमा गत वर्षदेखि वडा समिति परिवारले ११ लाखको बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले युवा समाजसेवी तेजेन्द्र गुरुङ (शक्ति)ले खेलमैदानमा अहोरात्र खटेर खेल मैदानका लागि धेरै मिहिनेत गर्नुभएको भन्दै प्रशंसा गर्नुभयो। अध्यक्ष पोखरेलले वडा समिति परिवारले लगानी गेर प्रथम भैरव नकआउट प्रतियोगिता गराउन पाउँदा गर्वको महसुस गरिरहेको बताउनुभयो ।

    ‘यो ऐतिहासिक खेलमैदानमा फुटबल प्रतियोगिता भइरहेको छ । यसको सम्पूर्ण श्रेय भैरव युवा क्लबका अध्यक्ष र खेलमैदानमा खटेर व्यवस्थित गर्ने टीमलाई जान्छ । अध्यक्ष पोखरेलले भन्नुभयो–‘खेलमैदान स्तरोन्नतिका लागि वडा कार्यालय यस वर्ष ३० लाख बजेट विनियोजन गरेको जानकारी दिन चाहन्छु ।’ उहाँले आफ्नो कार्यकालमा ऐतिहासिक काम गर्ने मौका जुराएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । यस वर्ष प्रतियोगिता सञ्चालनका लागि पाँच लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । यो प्रतियोगिता निरन्तर सञ्चालन हुने उहाँले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाले यस वर्ष महात्मा गोल्ड कप फुटबल प्रतियोगिताका लागि बजेट बिनियोजन गरेको र त्यो प्रतियोगिता पक्लिहवा माविको खेलमैदानमा हुने उहाँले जानकारी दिनुभयो । उहाँले केही वर्षअघि हुन नसकेको फुटबल प्रतियोगिताहरु सञ्चालनका लागि यो खेलमैदानले उर्जा थपेको जस्तो आफूलाई लागेको बताउनुभयो । उहाँका अनुसार इतिहास बोकेको यो खेलमैदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको बताउनुभयो ।

    sss.jpg

    भैरव युवा क्लबका सल्लाहकार सुशील गुरुङका अनुसार प्रतियोगिताको विजेता टीमले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा कप, मेडल र प्राप्त प्राप्त गर्नेछन् ।

    त्यसै गरी प्रतियोगितामा सर्वोत्तम खेलाडीलाई १० हजार, सर्वोत्तम गोलकिप्पर, सर्वोत्तम डिफेन्डर, सर्वोत्तम मिडफिल्डर र सर्वोत्तम स्ट्राइकरलाई ७ हजार र दैनिक रुपमा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताको उपविजेता (रनर अप) टीमको पुरस्कारको सौजन्य रुद्राक्ष मार्टले गरेको छ ।

    आयोजकका अनुसार प्रतियोगितामा नेपाल मात्र नभइ मित्रराष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्वखेलाडीहरु चेतन गुरुङ, अशोक गुरुङ, किशन थापा, श्याम गुरुङ, अशोक राना (वाङ्ग) र बुद्धिराम नेपालीलाई फुटबलमा योगदान गरेवापत सम्मान गरिनेछ ।

    प्रतियोगिता आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने सल्लाहकार गुरुङले बताउनुभयो । प्रतियोगितामा श्री दुर्गा मन्दिर नयाँ गाउँ, रानी गाउँ र आमा समूह नयाँ गाउँ, रानी गाउँले गरेको छ ।