शनिवार , मंसिर २०, २०८२
बुटवल, २० मंसिर । स्वर–सम्राटका नामले प्रसिद्ध गायक स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको ३५ औं स्मृति दिवस रुपन्देहीको बुटवलमा पनि एक साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । बुटवलस्थित रागश्री संगितालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा रुपन्देहीका गायक गायिकाहरुले स्व.नारायण गोपालका कालजयी गीतहरु पस्केर स्वर–सम्राटको स्मरण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले नेपालको सांगीतिक क्षेत्रको विकासमा स्व.नारायण गोपालको भुमिका अविस्मरणिय रहेको चर्चा गर्नुभयो । उहाँले नेपाली भाषाको सुगम संगीतलाई आधुनिक ढंगले उच्च शिखरमा पुर्याउन नारायण गोपालको पुस्ताले खेलेको भूमिकाको स्मरण गर्नुभयो । उहाँले संगीतको क्षेत्रमा लाग्न चाहनेहरुका लागि उहाँ समुच्च प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो ।
रागश्री संगितालयका सञ्चालक सुरेश सेन्चुरीले युग युगसम्म गुञ्जिरहने दर्जनौं कालजयी गीतहरुका गायक स्व.नारायण गोपालले नेपाली संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । वि.सं. २०४७ सालमा ५१ वर्षको उमेरमा निधन भएका नारायण गोपालको सम्झनामा उहाँको सम्मानमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा गायक तथा गीतकार डिल्ली नारायण पाण्डेले स्व.नारायण गोपालको जीवनी उल्लेख गर्दै उहाँ गाएका गीतहरु, उहाँले प्राप्त गरेका उपलब्धीहरु, उहाँको पारिवारिक अवस्था र जीवनका भोगाई र गराईका उतारचढावहरुबारे चर्चा गर्नुभएको थियो । वि.सं. १९९६ साल असोज १८ गते झापामा जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते काठमाडौंमा निधन भएको थियो ।
कार्यक्रममा रागश्री संगितालयका कलाकारहरु प्रज्ञा न्यौपाने, सुमन थापा ठकुरी, विक्रम काफ्ले, सवनम काफ्ले, पंकज पाण्डे, डिल्ली नारायण पाण्डे, बसन्त खनाल, माधव भण्डारी, शकुन्तला गैरे, धनुष पुन र नविन वि.क.लगायतले स्व. नारायण गोपालका गीतहरु पस्कनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij