२०८२, माघ ८ गते

Jan 22 2026 | २०८२, माघ ८ गते

बुद्ध पब्लिकले जित्यो चौधौं एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि

शनिवार , मंसिर २०, २०८२

  • 544
    Shares
  • 544
    Shares
  • बुटवल, २० मंसिर । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौं एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवलको सुख्खानगरस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामूदायिक तथा संस्थागत विद्यालयहरुको सहभागीता थियो । बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि जितेकी हुन् । उपाधि विजेता भण्डारीले २० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । 

    ‘राष्ट्रिय राजनीतिमा युवाको सक्रियता पदीय महत्वाकांक्षा वा वर्तमान आवश्यकता’ विषयमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल बुटवलकी जिविका बस्याल द्वितीय भइन् । उनले नगद १५ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको विद्यालयका सह–प्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले बताउनुभयो । 

    सह–प्राचार्य गौतमका अनुसार प्रतियोगितामा छवी मिश्र तृतीय र स्वीकृति न्यौपानेले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले जनही १० हजार रुपैयाँ, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको सह–प्राचार्य गौतमले जानकारी दिनुभयो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुलाई देश, समय, परिस्थितिकाल अनुसारका ज्ञान र सीप सिकाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सैद्वान्तिकसँगै व्यवहारिक र बाहिरी ज्ञानमा पनि सक्रिय बनाएमा भविष्यमा काम लाग्ने शिक्षा पाउने र दिक्षित हुने बताउनुभयो । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्याब्सन नेपालका उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका पूर्व अध्यक्ष दिनेश भुसाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै प्रतियोगितामा सहभागीता जनाउनु नै विद्यार्थीको जीत भएको भन्दै हौसला प्रदान गर्नुभयो । 

    विद्यालयका शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका सह–प्राध्यापक युवराज गौतम, उप–प्राध्यापक डा शंकरप्रसाद गैरे, हेमराज शर्माले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।