२०८२, माघ ८ गते

Jan 22 2026 | २०८२, माघ ८ गते

दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जीबीएस

शनिवार , मंसिर २०, २०८२

  • 595
    Shares
  • 595
    Shares
  • बुटवल, २० मंसिर । रुपन्देहीको बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता–२०८२ को उपाधि होराईजन जीबीएसले जितेको छ । क्यानन माध्यमिक विद्यालय सुख्खानगर, बुटवलको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा होराईजन जीबीएसले उपाधि चुमेको हो । 

    जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जीबीएसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड र प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार ३ सय ३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।

    सिद्वेश्वर खेलमैदानमा भएको निर्धारित समय बराबरी गोल भए पनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि बराबरी भएपछि खेल सडेनडेथमा ४–३ गोलले होराईजन जिबिएसले उपाधी चुम्न सफल भएको हो ।

    विजेताहरुलाई राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक शंकर भण्डारी, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सह–प्राचार्य विष्णु न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो ।

    प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुशान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँसहित पुरस्कृत हुनुभयो । त्यस्तै होराईजन जीबीएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक र स्कलर्स होमका सुमित पुलामीमगर सर्वाधिक स्कोरर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक पवन बस्यालले बताउनुभयो । फाईनल खेलमा होराईजन जीबीएसका अज्जु सारु मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत हुनुभयो ।  

    पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले क्याननले सेभेन ए साईड प्रतियोगिता गरेर फुटबल खेलाडी उत्पादनमा योगदान गरेको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले फुटबल प्रतियोगिता गरे पनि यसले भविष्यमा रुपन्देहीबाट राष्ट्रियस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    क्याननले गत वर्षदेखि क्यानन सेभेन ए साईड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा सञ्चालन सुरु गरेको हो । विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादनमा प्रोत्सहन गर्न आफूहरुले ब्राण्डका रुपमा क्यानन सेभेन ए साईड प्रतियोगिता गरेको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले बताउनुभयो ।

    मंसिर १४ गतेबाट सुरु भएको प्रतियोगितामा ३० वटा विद्यालयहरु भाग लिएको अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताउनुभयो । पुरस्कार वितरणका क्रममा प्रतियोगिता आयोजनामा सहकार्य गरेकाहरुलाई सम्मान समेत गरिएको थियो ।
    गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।