२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

सकारात्मक उपलब्धीलाई अगाडि बढाइनेछ : अस्पताल प्रमुख डा.थापा

बिहिवार , मंसिर १८, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, १८ मंसिर । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. वर्षा थापाले यहाँ भएका सकारात्मक उपलब्धीलाई अगाडि बढाउने आफ्नो प्रमुख योजना रहेको बताउनुभएको छ । उहाँले यहाँको टीमले धेरै नै सकारात्मक परिवर्तन ल्याइसकेको बताउनुभयो ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट सरुवा भइ भीम अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी डा.थापाले यो जिम्मेवारी आफ्ना लागि अवसर र चुनौती दुवै विषय रहेको बताउनुभयो । ‘यस अस्पतालमा विगतमा भन्दा धेरै सकारात्मक कार्य भएको छ, उहाँले भन्नुभयो–‘आगामी समयमा यही सकारात्मक उपलब्धीलाई अगाडि बढाउने मेरो प्रमुख योजना छ ।’

    खबरपात्रोसँग कुराकानी गर्नुहुँदै उहाँले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्थानीय तहहरुबाट पनि अस्पताललाई पूर्ण रुपमा सहयोग हुनेछ भन्ने अपेक्षा राखेको बताउनुभयो ।

    ‘अस्पतालमा नियमित सेवा लिन आउने जति पनि सेवाग्राहीहरु हुनुहुन्छ, उहाँहरुको विशेष सुविधालाई ध्यानमा राखेर कसरी हुन्छ अस्पतालको सेवालाई सहज रुपमा पु¥याउन हाम्रो पूर्ण प्रयास रहनेछ, ’डा. थापाले भन्नुभयो ।

    त्यसका लागि आवश्यक अस्पतालको इमरजेन्सी विभाग जतिसक्दो सुदृढीकरणका लागि एउटा समिति बनाइ अघि बढ्ने उहाँको भनाइ छ । त्यसका साथसाथै नयाँ बनेको भवनमा जतिसक्दो चाँडो प्रसुति, बालरोग विभाग सम्बन्धी सेवाहरु पुर्याउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    डा. थापाले अस्पतालमा केही उपकरणहरु रहेको र त्यसका लागि जनशक्ति व्यवस्थापन गरेर एचडीयू र आईसीयू सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पनि ध्यानाकर्षण भएको बताउनुभयो । त्यसका लागि समिति बनाएर चाँडै नै अघि बढ्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

    ‘मैले आएर हेर्दा भीम अस्पतालमा सबै कर्मचारीहरु एकदमै सकारात्मक रहेको पाएको छु । हामीले तय गरेका कार्यदिशा प्राप्त गर्न सबैको साथ र सहयोग रहने आशा राखेका छौं, ’उहाँले भन्नुभयो ।