२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

स्थानीय सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड

बुधवार , मंसिर १७, २०८२

  • 751
    Shares
  • 751
    Shares
  • भैरहवा, १७ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच अन्तरक्रिया (सहकार्य) कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयको सहजीकरण तथा कोटहीमाई गाउँपालिकाको आयोजनामा स्थानीय तहका कार्यक्रम कार्यान्वयन पक्षलाई थप प्रभावकारी र कुशल बनाउने सहजीकरण सम्बन्धी सहकार्य कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्नुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव दिपक ढकालले संघीयताले प्रदान गरेका अधिकारलाई उपयुक्त रूपमा कार्यान्वयन गर्दै स्थानीय सरकारहरूले दायित्व अनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘संघीयतामा सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार हो । उहाँले भन्नुभयो–‘संघ तथा प्रदेश सरकारबाट प्रवाह हुने सेवा पनि स्थानीय सरकारमार्फत नै जनतासम्म पुग्ने भएकाले स्थानीय सरकार सबैभन्दा बढी विश्वसनीय हुनु आवश्यक छ ।’

    उप–सचिव ढकालले स्थानीय तहबाट जनतालाई प्रदान गरिने सेवा र व्यवहार नै समग्र सरकारको अनुहार झल्किने बताउनुभयो । ‘स्थानीय सरकार जनमुखी बन्न सके संघ र प्रदेश सरकारको काम सकारात्मक रूपमा जनतासामु प्रस्तुत हुन्छ,’ उहाँले भन्नुभयो ।
    कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले संघीय सरकार मातहतका मन्त्रालयबाट समयमै निर्देशन नआउँदा धेरै काम अलमलमा पर्ने गरेको बताउनुभयो । विशेष गरी कारवाही तथा अनुसन्धानसम्बन्धी पत्र–व्यवहारमा तोकिएको निर्देशन नआएर समस्या दोहोरिने गरेको उहाँले जानकारी दिनुभयो । साथै आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले चालुतर्फ ९६.४ प्रतिशत तथा पूँजीगततर्फ ७१.१७ प्रतिशत बजेट खर्च गर्न सफल भएको उहाँले जानकारी दिनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार भवन निर्माण तथा अन्य योजना कार्यान्वयन, मापदण्डअनुसार सडक सीमा निर्धारण, विद्यालयहरूमा दरबन्दी अभाव, नदीजन्य पदार्थका टेण्डर आह्वानमा आउने अवरोध लगायतका चुनौतीहरू गाउँपालिकामा अझै कायम रहेका छन् ।

    कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, वडा नम्बर ५ का वडाअध्यक्ष संजय कुमार सैनी, ४ का अध्यक्ष बेचुराम पाल, ७ का अध्यक्ष पवन कुमार यादव, ३ का अध्यक्ष विष्णु नारायण पाण्डेय लगायत विभिन्न शाखाका प्रमुखहरूले समेत पालिकाको समस्याबारे जानकारी गराउनुभएको थियो ।