२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

भैरहवामा लैंगिक सचेतना तालिम सम्पन्न

बुधवार , मंसिर १७, २०८२

  • 751
    Shares
  • 751
    Shares
  • भैरहवा, १७ मंसिर । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा मंगलबार लैंगिक सचेतना तालिम सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा तालिमको आयोजना गरिएको रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो । अभियान अन्तर्गत रेडक्रसले विभिन्न कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले भौतिक पूर्वाधार मात्र नभइ सोचमा परिवर्तन पनि विकास भएको बताउनुभयो । उहाँले महिला दिदीबहिनी प्रत्येक क्षेत्रमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पुरुषमाथि पनि हिंसा भएको तर, महिलामाथि हिंसा बढ्दो रहेको उहाँको भनाइ छ । उपप्रमुख अधिकारीले पुरुषलाई मात्रै गाली गरेर नहुने बताउनुभयो । उहाँले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा हिंसा गर्दिन, हिंसा सहदिन र हिंसा देखे प्रतिकार गर्छु भन्ने प्रण गर्नुपर्ने बताउनुभयो ।

    IMG_9670.JPG

    त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका वरिष्ठ प्रहरी नायव निरीक्षक दुर्गा दत्त भट्टले हिंसा न्यूनीकरण गर्न सचेतना जरुरी रहेको बताउनुभयो । उहाँले सचेतना घरबाट सुरु गर्नुपर्ने बताउनुभयो । ‘हिंसा दण्डनीय हो, कसैमाथि हिंसा हुनुहुँदैन र हिंसा सहनु पनि हुँदैन, ’उहाँले भन्नुभयो ।

    रेडक्रस रुपन्देही जिल्ला शाखाका उपसभापति सुशील गुरुङले पुरुषले मात्र परिवार र देश चल्छ भन्ने सोचबाट माथि उठ्नुपर्ने बताउनुभयो । उहाँले महिला सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो । ‘नेपालको संविधान २०७२ ले महिलाको पक्षमा धेरै अधिकार दिएको छ, ’उहाँले भन्नुभयो–‘अधिकार लिन पहिला महिला शिक्षित र जागरुक हुनुपर्छ, प्रत्येक क्षेत्रमा महिला अगाडि बढ्नुपर्छ ।’ पुस मसान्तभित्र रेडक्रसका १९ वटा उपशाखामा अधिवेशन सम्पन्न हुने भएकाले उपशाखामा बढी भन्दा बढी महिला नेतृत्व आउनुपर्ने बताउनुभयो । 

    रेडक्रस रुपन्देहीको उपसभापति रुपमा हिराचनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा प्रशिक्षक अमृता अधिकारीले सहजीकरण गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागीता रहेको रेडक्रस रुपन्देहीको प्रोग्राम फोकल पर्सन सुरक्षा भट्टराईले जानकारी दिनुभयो ।

    ‘प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।