बुधवार , मंसिर १७, २०८२
भैरहवा, १७ मंसिर । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पर्यटकलाई सहज रुपमा भित्र्याउने वातावरण बजाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको प्रमुख आम्दानीको स्रोत पर्यटन नै भएको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले मंगलबार भैरहवामा आयोजना गरेको व्यापार सहजीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले नेपालमा आउने पर्यटकमध्ये ८०–९० प्रतिशत भारतीय पर्यटक रहेको बताउनुभयो ।
‘ट्राफिक प्रहरीले पर्यटकलाई धेरै दुःख दिए र धेरै ठाउँमा चेकजाँच गरेकोले समस्या आएको गुनासो रहेको उहाँको भनाइ छ । ‘सातै प्रदेशका अर्थमन्त्रीहरुले संघीय अर्थमन्त्रीसँग छलफल गर्दा पनि प्रमुख रुपमा यही कुरा नै उठेको थियो, ’उहाँले भन्नुभयो–‘भन्सारमा गाडी चेकजाँच भएर स्टीकर टाँसी कार्ड दिइ बाटोमा दुर्घटनाबाहेक चेकजाँच नगरी निर्वाध जाने गरी निर्णय गर्ने कुरा भएको छ ।’
नेपाल आउने पर्यटकलाई सम्मान गर्न नसकिए देश पछाडी पर्ने उहाँको भनाइ छ । कर प्रणालीलाई अझ मजबुत बनाउनुपर्ने मन्त्री कार्कीले बताउनुभयो । उहाँले सोचलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । ‘देशको विकास भएन, भएन भन्छौं, विकास अत्यन्तै भएको छ । ४० वर्ष पहिला र अहिले हेर्दा धेरै विकास भएको छ, ’उहाँले भन्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले जति कुरा गरे पनि नेपालको विकास पर्यटनको माध्यमबाटै हुने बताउनुभयो । उहाँले प्रकृतिले नेपाललाई पर्यटनको देश बनाएकाले पर्यटकलाई सहज रुपमा नेपाल भित्र्याउनुपर्ने र त्यसले मुलुक आर्थिक समृद्धितर्फ जाने बताउनुभयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले पछिल्लो समय भन्सारमा धेरै सुधार भएको बताउनुभयो । उहाँले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले एकीकृत भन्सार चेकजाँच चौकी (आईसीपी) निर्माणपछि भन्सार क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज हुने बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले कानूनको अक्षरस पालनामा सबैको साथ, सहयोग र सल्लाह–सुझाव आवश्यक रहेको बताउनुभयो । उहाँले खुल्ला सीमाका कारणले पनि रुपन्देहीमा सवारीसाधनको चाप बढी भएको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भन्सार कार्यालयले व्यापार सहजीकरण गराएको अनुभूति व्यवसायीले गर्न सक्ने वातावरण गराइदिन आग्रह गर्नुभयो ।
संस्थाका पूर्वअध्यक्ष अनिल कुमार ज्ञवालीले भैरहवाको सिद्धार्थ बसपार्कलाई नै जिरो प्वाइन्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअध्यक्ष खिम बहादुर खत्रीले ट्राफिक लाईटलाई व्यवस्थित गर्नुपर्ने र लाईटले सधै काम नगरेको गुनासो गर्नुभयो ।
संस्थाका पूर्व सल्लाहकार फैज अहमद खानले बिना भन्सार भारतबाट नेपालमा सामान भित्रिनु सरकारको कमजोरी भएको बताउनुभयो ।
सल्लाहकार रामचन्द्र रेग्मीले बिना लाईसेन्स ई–रिक्सा चलाउने र जथाभावी रोक्ने प्रवृत्ति रहेकोले यसप्रति ध्यान दिन आग्रह गर्नुभयो । सल्लाहकार दीपक बहादुर कुँवरले पर्यटकका गाडीलाई ठाउँठाउँमा चेकिङको नाममा दुःख दिइएको बताउनुभयो ।संस्थाका कार्यसमिति सदस्य प्रियाबन्धु न्यौपानेले ट्राफिक व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले बेलहिया नाका पर्यटन भित्रिने मुख्य नाका भएकाले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभयो ।
संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले रातीको समयमा ठूलो आवाजमा बाईक गुडाउने गरिएकाले त्यसले समस्या निम्तिएको बताउनुभयो । होटल व्यवसायी रोमकान्त भट्टराईले नेपाली उपभोक्तालाई स्वदेशमै सामान किन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले नेपालमा मदिरामा धेरै अन्तःशुल्क लगाइएको भारतबाट अवैध रुपमा मदिरा भित्रिएको बताउनुभयो । उहाँले भैरहवामा चार ठाउँमा बसपार्कको रुपमा प्रयोग गरिएको भन्दै सिद्धार्थ बसपार्कलाई नै जिरो प्वाइन्ट बनाउनुपर्ने बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवको स्वागत, वाणिज्य उपाध्यक्ष सुरेन्द्र पाण्डेयको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित सातौं लुम्बिनी महोत्सवस्थल (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा मंगलबार कार्यक्रम भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij