२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरणमा

सोमवार , मंसिर १५, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • बुटवल, १५ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माध्यमिक विद्यालयले नयाँगाउँ माध्यमिक विद्यालयलाई २–० ले हराउँदै विजयी भएको छ । 

    सैनामैनाका मिलन केसी र सुवास नेपालीले १/१ गोल गरेका थिए । त्यसै गरी दोस्रो खेलमा केरवानी मावि प्रतिष्पर्धामा नआएपछि आयोजक क्यानन मावि ‘सि’ वाकओभर पाएर अघिल्लो चरणमा पुगेको छ । 

    सिदेश्वर खेल मैदानमा भइरहेको खेलको तेस्रो खेलमा भने देवदह बुद्ध पब्लिक स्कूल विजयी भएको छ ।

    देवदह बुद्ध पब्लिकले न्यू इन्भामेन्टलाई २–० ले पराजित गरेको हो ।  त्यसै गरी चौथो खेलमा मणिमुकुन्दले ग्रिन प्लान्टलाई ३–० गोल अन्तरले हराउँदै विजयी भएको छ । मणिमुकुन्दका विविश गाहा, सुजन जिसी र सागर थापाले गोल गरेका थिए । 

    त्यसै गरी दिँउसो ३ बजेपछि भएको खेलमा होराइजन  इंगलिस बोर्डिङले सनसाईन भैरहवालाई २–० गोलले पराजित गरेको छ । होराईजन इंगलिश बोर्डिङ स्कूलका सुजल बराल र सन्तोष कार्कीले गोल गरेको खेल संयोजक पवन बस्यालले जानकारी दिए । 

    त्यसै गरी सोमबारको अन्तिम खेलमा आयोजक क्यानन मावि र होराइजन जिबिएसले निर्धारित समयमा २–२ को बराबरी खेल गरेपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राईबेकरमा होराइजन जिबिएसले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । 

    सोमबार भएका ६ खेलबाट सन्तोष कार्की, विवश गाहा, सन्देश गुरुङ र सुबास नेपाली म्यान अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए । म्यान अफ दिन म्याचलाई ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । मंगलबार पनि ६ वटा विद्यालयका बीचमा प्रतिष्पर्धा हुनेछ ।

    रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयका विचमा भएको प्रतिष्पर्धाले विद्यालय तहबाटै खेलकुदको विकासमा उर्जा थपेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

    मंसिर १९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टीमले ५५ हजार ५ सय ५५, उपविजेताले ३३ हजार ३ सय ३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आइतबार भएको खेलमा कान्ति मावि,स्कलर्स होम बोर्डिङ स्कूल, अक्सफोर्ड मावि, नविन औद्योगिक कदर बहादुर रीता मावि र एभरेष्ट बोर्डिङ स्कूल विजयी भएका थिए । 

    गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।