२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

पाँच वर्षमा झण्डै १५ लाख जनाले लिए आँखा उपचार सेवा

बुधवार , कार्तिक ५, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा, ५ कार्तिक । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँच वर्षको अवधिमा करिब १५ लाख बिरामीले आँखा उपचार सेवा लिएका छन् । २०७७/०७८ देखि २०८१/०८२ सम्म १४ लाख ७७ हजार १ सय ७४ जनाले सेवा लिएका हुन् ।

    अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ५३ हजार ५ सय ३३ जना, २०७८/०७९ मा २ लाख ८२ हजार २ सय ३७, २०७९/०८० मा ३ लाख २८ हजार ८ सय ४०, २०८०/०८१ मा ३ लाख २९ हजार ५ सय ११ र २०८१/०८२ मा ३ लाख ८३ हजार ५३ जनाले उपचार गराएका छन् । अस्पतालको तथ्यांकका अनुसार यहाँ उपचारका लागि आउनेको संख्या क्रमशः बढ्दै गएको देखाउँछ । 

    आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले २८ हजार ७ सय ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको सह–व्यस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार उल्लिखित सेवा लिने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी नेपाली छन् । अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (ईएनटी) विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ । 

    वि.सं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लाका साथै भारतीय बिरामीलाई पनि सेवा दिँदै आएको छ । सूचना अधिकारी पाण्डेयका अनुसार अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर समेत सञ्चालन गर्दै आएको छ ।