
मंगलवार , कार्तिक ४, २०८२
भैरहवा, ४ कार्तिक । रुपन्देहीको भैरहवामा ‘मञ्जु देवी मल्लिक मेमोरियल चित्रांश कप–२०८२’ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । चित्रांश युथ क्लब भैरहवाको आयोजना तथा श्री चित्रगुप्त युवा सेवा समिति भैरहवाको सहयोगमा प्रतियोगिता कार्तिक ५ गते बुधबार (भोली) हुने भएको हो ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार सिद्धार्थनगर नगरपालिका–६ चित्रगुप्तपथस्थित चित्रगुप्त मन्दिरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
प्रतियोगितामा ६ वटा टीमको सहभागी हुने चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले बताउनुभयो । सहभागी टीममा के.एफ. लायन्स, चित्रांश सुपर किंग्स, चित्रांश बोल्टस्, पानस–११, वीरगंज एभेन्जर्स र एटीएल किंग्स रहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष हुने प्रतियोगिता छैठौं संस्करण हो । सुपर सिक्स फर्मेटमा सञ्चालन हुने प्रतियोगिता एक दिनमा समापन हुने अध्यक्ष लाभले जानकारी दिनुभयो । बुधबार बिहान ७ बजेदेखि खेल सुरु हुने प्रतियोगिताको बुधबार बिहान १०ः३० बजे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । प्रत्येक खेल ५ ओभरको हुने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च हुने कार्यक्रम संयोजक शुभम कर्णले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनार्थ पाँच वर्षसम्मका लागि सम्झौता समेत गरिएको छ । सम्झौता–पत्रमा स्वर्गीय मञ्जु देवी मल्लिकका सुपुत्र दीपक मल्लिक (प्रतियोगिताका टाईटल स्पोन्सर) र चित्रांश युथ क्लब भैरहवाका अध्यक्ष सौरभ लाभले हस्ताक्षर गर्नुभएको छ ।
प्रतियोगितास्थल सिद्धार्थ क्रिकेट रंगशालामा लियो क्लब अफ सिद्धार्थनगर युथको सहयोगमा बुधबार निःशुल्क स्वास्थ्य शिविर (मधुमेह र रक्तचाप) परीक्षण समेत गरिने आयोजकले जनाएका छन् । एभरेष्ट रोलिङ इण्डष्ट्रिज एण्ड आर.के. एग्रो इण्डष्ट्रिजद्वारा सञ्चालन हुने प्रतियोगिताको सह–प्रायोजन ब्रेभ कन्सट्रक्सन एण्ड अमन इन्जिनियरिङ रहेको छ ।
श्री चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश कुमार मल्लिकले क्रिकेटको माध्यमबाट चित्रांश समाजलाई अझ एकताबद्ध रुपमा जोड्ने प्रयास गरिएको बताउनुभयो । उहाँले जितियासहित विभिन्न कार्यक्रम गरिदै आएको जानकारी दिनुभयो । श्री चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij