
शुक्रवार , आश्विन ३१, २०८२
भैरहवा, ३१ असोज । रुपन्देहीमा बेलुकी ९ बजेसम्म मात्र देउसीभैला खेल्न पाइने भएको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसीभैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलाप बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताउनुभयो ।
त्यस्तै कानूनविपरीतका क्रियाकलापहरु जुवातास, लङ्गुरबुर्जा खेल्ने÷खेलाउने, भुईचम्पा, पटाका तथा आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, विक्रीवितरण र प्रयोग गर्न÷नगराउन उहाँले अनुरोध गर्नुभयो । मादक पदार्थ सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला, झै–झगडा जस्ता कार्य गर्न नपाइने उहाँले बताउनुभयो । ‘भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप गर्न पाइँदैन । अखाद्य वस्तु, रंग मिसाइएका मिठाइ, रोटी जस्ता अस्वस्थ खाना र गुणस्तरहीन खाद्यवस्तुहरुको विक्रीवितरण एवं उपभोग नगर्न र नगराउन अनुरोध गर्दछौं,म्
म्याद गुज्रेका भाईमसाला, प्लाष्टिकजन्य फूलमाला लगायत कानूनले बर्जित गरेका आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग, विक्रीवितरण नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुरोध गरेको छ । यदी कसैले प्रचलित कानूनविपरीतको कार्य गरेको पाइएमा कानूनबमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।
दीपावली तथा छठ जस्ता चाडपर्व मनाउने नाममा कसैको इच्छा चाहनाविरुद्धका क्रियाकलापहरु तथा समाजमा अशोभनीय कार्य नगरी स्वतन्त्र र खुसीयालीपूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्षा अमनचयनको अवस्था कायम राख्न र तिहारको समयमा दियो, मैनबत्ती, पाला एवं विद्युतीय उपकरण बाली दीपावली मनाउँदा आगलागि जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु गर्दा पूर्ण सजगता अपनाइ होसियारीपूर्वक कार्यहरु गर्न÷गराउन रुपन्देही प्रशासनको आग्रह छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij