२०८२, आश्विन २९ गते

Oct 15 2025 | २०८२, आश्विन २९ गते

माईली बनिन् मोडल

बुधवार , आश्विन २९, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • घरकी चार बहिनीमध्येकी माईली हुन् निरुता लामा । उनले १२ कक्षा पास गरिन् । तर, सोभन्दा माथिल्लो शिक्षा लिन पारिवारिक एवं आर्थिक समस्याले सम्भव भएन । 
    माईलीको घर, सिन्धुलीको कमलामाई नगरपालिका ११ नम्बर वडाको जस्मन्टार हो । अहिले उनीहरुको परिवारमा १० जना छन् । जेठो भाइबाहेक सबै दिदीबहिनी र कान्छो भाइ अविवाहित छन् । 
    माईलीले गाउँकै स्कूलबाट एसईई गरेपछि सदरमुकाम सिन्धुलीबजार झरेकी थिइन । सहरमा आएपछि उनले बाँच्नैका लागि कस्मेटिक दुकानमा जागिर थालिन् । अनि परिवर्तनशील प्रतिभा केन्द्रमा रहरले तालिम लिन सुरु गरेको तीन दिनमै उक्त केन्द्र बन्द भएपछि माईली पानीबिनाको माछासरि भइन् ।

    माईलीलाई सानैदेखि स्कुलमा पढाईसँगै नाँच्ने रहरले बुरुक्क उफारेको थियो । साथीहरुले नि उनको नृत्यकलामा उकेरा लगाइदिन्थे । प्रतियोगितामा भाग लिएर कहिल्यै रित्तो हात फर्किन परेन उनलाई । यो नै माईलीको मोडलिङ यात्राको कोशेढुंगा थियो ।

    माईलीले पछिल्लो समय थुप्रैपटक म्यूजिक भिडियोमा मोडेलिङ्ग गरेकी छिन् । बेजोड प्रतिभा प्रस्तुत गरेकी छिन् । नृत्यकला उजागर गरेकी छिन् ।

    माईली गहुँगोरी छिन् । हिस्सी परेकी छिन् । डिम्पल परेको गालामा खुसी फुलाउँदा मख्ख नपर्ने को पो नहोलान् र रु सर्लक्क जिउडाल, फरासिली माईलीलाई देखेपछि सबै मोहित हुन्छन् । धेरैलाई उनले रुपलेभन्दा पनि नृत्य, अभिनयकलाले आकर्षित तुल्याएकी छिन् ।

    यी सबै यात्रामा उनलाई सिन्धुली कलाघरले साथ दियो । २०७४ सालदेखि नै उनी कलाघरकी संस्थापक सदस्य बनिन् । कलाघर, स्थापना गर्दाका समयमा उनले समय, साथ र सक्दो आर्थिक सहयोग समेत जुटाईन् । बाँस बोक्दा कुमका छाला खुल्स्याउनेदेखि खोला किनारका काँस काट्न समेत भ्याईन् । यो विगत थियो कलायात्राको माईलीको ।

    माईलीले नृत्य सिक्दै गर्दा, टुटेको नृत्ययात्रा कलाघरबाट आजसम्म कायम राखेकै छिन् । उनले नौमति पञ्चे बाजाका सबै बाजा सिकिन् । तैपनि उनलाई यतिबेला ‘दमाहवाली निरुता’ भनेर कलाघरका सबैले टाईटल नाम दिएका छन् । सुरु सुरुमा बाजा बजाएर हिड्दा गाउँ समाजले गरेको हेला, घृणालाई आजको संसारले चिन्दा, सम्मान गर्दा उनी लगायत सबै साथीहरुले विगत बिर्सिन चहान्छन् । 
    माईलीलाई कलाकार बन्ने सानैदेखिको ठूलो रहर । आमाले उनलाई चार आनाको सुनको गहना हातमा थमाई दिएर ईच्छा पूरा गरिदिईन् । त्यही कुरा सम्झेर देशकै नमूना र नामी कलाकार बन्ने अठोट बोकेकी छिन् माईलीले ।

    उनले नाटकहरुमा जीवन्त अभिनय गरेकी छिन् । टिकटकमा बेजोड क्षमता प्रदर्शन गरेकी छिन् । सरकारी एवं गैरसरकारी संघ–संस्थाहरुले उनलाई पुरस्कार तथा सम्मान समेत गरेको छ । 
    माईली आफ्नो कला प्रस्तुत गर्न गाउँ, सहरदेखि भारत, हङकङसम्म पुगेकी छिन् । कलामार्फत आफ्नो पहिचानको यात्रा फराकिलो बनाउँदै लगेकी छिन् । उनी भन्छिन्–म जन्मिएकै कला देखाउन त होला नि १