
शनिवार , भाद्र २१, २०८२
भैरहवा, २१ भदौ । लमजुङ रूपन्देही एकता समाजको अध्यक्षमा पुनः डा. ज्ञानदेव हटुवाल निर्वाचित हुनुभएको छ ।समाजको भैरहवामा शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले डा. हटुवालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा हरिराज विष्ट, सचिव पुष्प कुमार घिमिरे, कोषाध्यक्ष गुणनिधि चिलुवाल र सदस्यहरूमा रूपेन्द्र अधिकारी, रामप्रसाद मिश्र, निर्मला शर्मा ज्ञवाली, भगवती शर्मा र दधुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत फणिन्द्र पोखरेलले जानकारी दिनुभयो ।
साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अनिता ढुंगाना शाहले लमजुङले विभिन्न क्षेत्रमा नेपालमै गौरवपूर्ण योगदान दिएको उल्लेख गर्दै लमजुङबाट रूपन्देही आएकाहरूले पनि उल्लेखनीय योगदान गरेको बताउनुभयो । उहाँले लमजुङको विविधतालाई चिनाउन रूपन्देहीमा पनि कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका प्रमुख ब्रह्मकुमारी शान्ति सुवेदीले जन्मभूमिभन्दा बाहिर रहेकाहरूमा झन् आत्मियता विकास हुने हुँदा आत्मियतालाई विकास गर्दै सहयोगका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारी, लमजुङ रूपन्देही एकता समाजका सल्लाहकार सुशील गुरुङ, रूपन्देही एफएमका स्टेशन म्यानेजर शंकरप्रसाद पाण्डेलगायतले भनाइ राख्नुभएको थियो ।
साधारण सभामा सचिव पुष्प कुमार घिमिरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । डा. ज्ञानदेव हटुवालको अध्यक्षता, पुष्प कुमार घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिराज विष्टले स्वागत गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij