
शनिवार , भाद्र २१, २०८२
काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गर्नुभएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको बन्देजप्रति गम्भीर चासो व्यक्त गर्दै उहाँले सरकारको उक्त कदमको निन्दा गर्नुभएको हो ।
बस्नेतले भन्नुभयो–‘सरकारले उद्योग कलकारखानाहरु बन्द गर्यो । हामी मुखदर्शक भएर बस्यौँ । नेपाल सरकारले मुलकभित्र रोजगारीको सम्भावना बन्द गरिदियो । हामी चुप बस्यौं । आज सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि ठाडो हस्तक्षेप गर्यो, हामी मौन छौं ।’
उहाँले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने सरकारको स्वेच्छाचारी प्रशासनिक निर्णयलाई अधिनायकवादतर्फको सरकारको कदमको रुपमा व्याख्या गर्नुभएको छ । उहाँले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई कुण्ठित गर्ने सरकारको कदमप्रति कडा आलोचना गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धले नागरिकबीचको सञ्चार र सामाजिक सम्बन्धहरुमा अवरोध हुने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij