
शनिवार , भाद्र २१, २०८२
दाङ, २१ भदौ । लुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य प्रजातिका विरुवाहरू लगाइएको हो ।
वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगाइएका बिरुवालाई हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
‘म आज ज्यादै खुसी छु । किनभने निजामती सेवा दिवसको सन्दर्भमा आयोजित वृक्षारोपणमा सहभागी हुन पाएँ । यो राजधानी प्रशासनिक परिसरलाई हरियालीमय बनाउन जरुरी छ,’उहाँले भन्नुभयो–‘वातावरणलाई सन्तुलन राख्न, अक्सिजन उत्पादन गर्न र शितलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय रहन्छ ।’
प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘वृक्षारोपण आफैंमा पवित्र काम हो । यहाँ रोपिएका बिरुवाले पछि फलान, फूलान, शितलता दिन्छन् । चराचुरुङ्गीले पनि वासस्थान पाउँछन्,’ उहाँले भन्नुभयो–‘यो महान कार्य हो ।’
वृक्षारोपण कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार प्रशासनिक परिसरभित्र सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहर, फलफूल प्रजातिका आँप, अम्बा र अमला रोपिएका छन् । यस्तै, अन्य महत्त्वपूर्ण रक्तचन्दन र सतिसाललगायतका विरुवाहरू पनि लगाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij