
शनिवार , भाद्र २१, २०८२
लुम्बिनी, २१ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले शनिबार लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको ई–रिक्सामार्फत अवलोकन गर्नुभएको छ । लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष डा. लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गर्नुभएको हो ।
अवलोकनका क्रममा उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित सरसफाई अभियानको शुभारम्भ गर्दै झाडु लगाएर अभियानको सुरुवात समेत गर्नुभएको हो । लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गर्ने योजनासहित उहाँले सबै कर्मचारी र सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गर्नुभएको छ ।
गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा आफै कार्यालयको नियमित कामको स्थलगत काममा फर्किनुभएको छ ।
लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताउनुभएको छ । उहाँले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिदै सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij