
शनिवार , भाद्र २१, २०८२
बुटवल, २१ भदौ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वितीय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे, सचिवमा कुलचन्द्र गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद श्रेष्ठ, सह–सचिवमा बुद्धिसागर पाण्डे, सह–कोषाध्यक्षमा दीपक काफ्ले रहनुभएको छ ।
त्यसै गरी सदस्यहरुमा नारायण खनाल, बिमला गुप्ता, हुमनाथ पोखरेल, दधिराम ज्ञवाली, राजकुमार श्रेष्ठ, पुष्पा पोखरेल, घनश्याम भट्टराई, ध्रमेन्द्र कुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, नुम हमाल, विष्णुप्रसाद काफ्ले र लक्ष्मी न्यौपाने रहुनभएको छ । नवनिर्वाचित अध्यक्ष प्रधानले आफूलाई सर्वसम्मत निर्वाचित गराएर नेतृत्व हस्तान्तरण गरेकोमा सम्पूर्ण संघ परिवारलाई धन्यवाद दिदै खुद्रा किराना व्यवसायीको हकहितमा रहेर निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बुुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स–साना व्यवसायीहरुको हितको लागि उपमहानगर जहिले पनि साथमा रहेको भन्दै अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले साना व्यवसायी बचाउने गरी उपमहानगरले काम गरिरहेको बताउँदै समस्या समाधानमा सहकार्य गर्न बुटवल उपमहानगर तयार रहेको बताउनुभयो । उपमहानगरले अनुगमनका कामहरु नियमित गरिरहेको भन्दै आफ्ना समस्या र योजनासहित उपमहानगरमा आउन नगरप्रमुख पाण्डेयले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी दिनुभयो । उहाँले संघमा आबद्ध भएका व्यवसायी सदस्यहरुको हकहित र समस्या समाधानमा काम गर्दै आएको पनि बताउनुभयो ।
संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले खुला सिमाना, दर्ता तथा अनुमतिबिना सञ्चालन हुने हाटबजार मेला महोत्सवहरुले खुद्रा किराना व्यवसायीलाई चुनौती सिर्जना भइरहेको बताउनुभयो । हाटबजारमा दर्ता नभइ व्यवसाय गर्ने तथा ठेला र झोलामा सामग्री बेच्न हिँड्नेबाट ब्यवसायी समस्यामा परेको उहाँको भनाइ थियो । हाटबजारमा म्याद सकिएका र अखाद्य वस्तु खुलमखुल्ला विक्री भइरहेको भन्दै उहाँले त्यसलाई रोक्न सरकारी संयन्त्रबाट अनुगमन तथा कडाइका साथ काम नहँुदा अहिले व्यवसायी समस्यामा परेको बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनाल, लुम्बिनी फलफूल तथा तरकारी थोक विक्रेता संघका अध्यक्ष बाबुराम भुसाल, हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुमाराम पोखरेल, देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, यशियन थाइ फुड्सका लुम्बिनी प्रदेश प्रमुख दीपक बास्तोला, संघका द्वितीय उपाध्यक्ष गोपालकुमार प्रधानलगायतले भनाइ राखेका राख्नुभएको थियो ।
कार्यक्रममा संघका सचिव यमलाल बेलबासेले प्रस्तुत गर्नुभएको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक खिमराज पाण्डेको लेखा समिति प्रतिवेदन पारित भएको थियो ।
सोही अवसरमा संघका उत्कृष्ट सदस्य, पत्रकार तथा एसईई र प्लस टुमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका सदस्यका छोराछोरीहरुलाई सम्मानसमेत गरिएको थियो । संघमा १ हजार २५० व्यवसायी आबद्ध छन् । कार्यक्रमको सञ्चालन महासचिव दधि ज्ञवालीले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij