
शनिवार , भाद्र २१, २०८२
बुटवल, २१ भदौ । नजिक आइरहेका दशैं–तिहार जस्ता चाडपर्वमा सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण अभियानमा सरोकारवालाहरुबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा चर्चा गरियो । चाडपर्वमा यात्रु र सवारी दुवैको चाप बढ्ने भएकोले चुनौतीको रुपमा रहेको सवारी व्यवस्थापन र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सरकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारा आयोजित सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण अभियानमा बोल्ने वक्ताहरुले प्रहरी र यातायात क्षेत्रका व्यवसायी, मजदूरका साथै यात्रुहरुको समेत महत्वपूर्ण भुमिका हुने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सडक प्रयोगकर्ता, यात्रु, सवारीसाधनको अवस्था, भौगोलिक अवस्था, छाडा चौपाया, मौसमको गडबडी लगायत सवारी दुर्घटनाका कारण धेरै हुने भए पनि प्रमुख जिम्मेवारी चालकको हुने बताउनुभयो ।
वरिष्ठ प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि प्रहरीसँगै यातायात व्यवसायी, चालक, मजदुर र यात्रु सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सबै सरोकारवाला पक्षलाई गम्भिर हुन आग्रह गर्नुभयो । उहाँले यसमा चालकहरु बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पश्चिम नेपाल बस प्रा.लि.का सञ्चालकहरु नारायण प्रसाद घिमिरे, जितेन्द्र खत्री, यातायात मजदूर संगठनका उपाध्यक्ष ठाकुर गैरे, बतास कमर्सियल भेहिकल प्रा. लि.का ठाकुर कुमार गाहा, हरि भट्टराई, प्रदिप पौडेल लगायतले सामान्य यात्राका साथै धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कार जस्तो महत्वपूर्ण यात्राको लागि समेत सवारीचालकको भरमा यात्रा गर्नुपर्ने भएकोले पेशालाई सम्मानित र मर्यादित बनाइरहने मुख्य दायित्व पनि चालकहरूको भएको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा करिब २ सय जना यातायात व्यवसायी, चालक तथा सह–चालकहरु सहभागी रहेको प्रा.लि.ले जनाएको छ । वि.सं. २०६६ सालदेखि निरन्तर सञ्चालनमा रहेको प्रशिक्षण अभियान अन्तर्गत हालसम्म ८ हजार ७ सय भन्दा बढी व्यवसायी, चालक र सह–चालकलाई प्रशिक्षण प्रदान गरिएको प्रा.लि.का सञ्चालक नारायण घिमिरेले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij