
शनिवार , भाद्र २१, २०८२
बुटवल, २१ भदौ । बुटवलको सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी संस्थाको हितका लागि मर्ज प्रक्रियालाई खुल्ला राख्नु साथै बहुउद्देश्यीय योजनालाई अगाडि सारेको छ ।
संस्थाको शुक्रबार बुटवलमा सम्पन्न २७ औं वार्षिक साधारण सभाले शेयर सदस्यको हितका लागि बहुउद्देश्यीय कार्यक्रमलाई वृद्धि गर्ने र संस्थाको हितका लागि मर्ज प्रक्रियालाई अगाडि सार्ने प्रस्तावलाई पारित गरेको हो ।
साधारण सभाले शेयर सदस्य/शेयर थप, बचत वृद्धि, साथै सदस्यहरुलाई उत्पादनमूलक र व्यवसायमुखी लगानी गर्दै आत्मनिर्भरताका लागि प्रेरित गर्ने कार्यक्रम गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमलाई समेत पारित गरेको अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले मुलुकका केही सहकारीहरु जोखिममा पर्दै गएकाले त्यो अवस्थाबाट इन्द्रेणीलाई सुरक्षित बनाउनका लागि उत्पादनमूलक कार्यक्रममा लगानी र जोखिम कर्जालाई कम गर्दै जाने नीति लिएको समेत बताउनुभयो ।
शेयर सदस्यहरुबाट बचत भएको संस्थाको पूँजीलाई सुरक्षितसँगै वृद्धि गर्नका लागि संस्थाले ईभि फाष्टिङ्ग चार्जिङ स्टेशन, दुग्धजन्य पदार्थ विक्री केन्द्र, आफ्नै भवनमा खाजा घरसमेत संचालन गरेको उल्लेख गर्दै सहकारीले अतिथि विश्राम गृह (गेष्ट हाउस) सञ्चालनको योजना समेत बनाएको बताउनुभयो ।
सो अवसरका साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा सहकारी विज्ञ टिकाराम पोखरेलले सहकारीलाई बचत गर्ने थलो मात्र नवनाएर उत्पादनमूलक क्षेत्रमा पनि चलायमान बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्त अनुसार सञ्चालन भएका जोखिममा पर्ने खतरा न्यून हुने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपाने, संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष धुर्वकुमार धिताल, पूर्वअध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, लेखा समिति संयोजक लुंजलाल शाक्य, मूल्यांकन समिति संयोजक दलबहादुर थापा, जेष्ठ शेयर सदस्य राधेश्याम राजभण्डारी लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत तथा सचिव नरबहादुर रजालीको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य तथा प्राविधिक शिक्षातर्फ विद्यावारिधि र अन्यमा स्नातकोत्तर गरेको शेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै इन्द्रेणीको कुल पूँजी ६४ करोड २० लाख, शेयर पूँजी १० करोड ४५ लाख ६ हजार ५ सय, बचत ४० करोड ६९ लाख, कूल कर्जा ४१ करोड ९५ लाख रहेकोे बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij