२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

रुपन्देही–३ को उपनिर्वाचनमा एमालेले जित्छ : गिरी

मंगलवार , भाद्र १७, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १७ भदौ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दावी गर्नुभएको छ । उहाँले यसपटक एमालेले नै जित्नुपर्ने बताउनुभयो ।

    एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको तेस्रो विस्तारित बैठकलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै गिरीले यस्तो बताउनुभएको हो ।

    ‘चुनाव एमालेले नै जित्नुपर्छ, एमालेको जीत सुनिश्चित छ । यसपटक हामीले जित्छौं, ’उहाँले भन्नुभयो । उपनिर्वाचनले राष्ट्रिय सन्देश दिने उहाँको भनाइ छ । ‘कार्तिक १७ गते हुने उपनिर्वाचनमा मुख्य प्रतिष्पर्धा काँग्रेस–एमालेबीच नै हुन्छ, ’उहाँले भन्नुभयो ।

    एमाले रुपन्देहीका इञ्चार्ज समेत रहनुभएका गिरीले रास्वपाप्रति इंगित गर्दै अहिलेसम्म जनताका लागि केही नगरेका मान्छे पनि उम्मेदवार बने पनि जनताले ती उम्मेदवारलाई मत नदिने बताउनुभयो । उहाँले लिपुलेक हुँदै द्विपक्षीय व्यापार गर्ने दुई छिमेकी भारत र चीनको सहमतिप्रति नेपालले प्रष्ट रुपमा आपत्ति जनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानले अन्तर्राष्ट्रिस्तरमा नेपालको गौरव अझ बढेको बताउनुभयो ।

    त्यस्तै पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले विकासको गतिलाई अगाडि बढाउन रुपन्देही–३ मा एमालेले नै जित्नुपर्ने बताउनुभयो । उहाँले यो क्षेत्रलाई अगाडि बढाउन एमालेसँग योजना, नीति तथा कार्यक्रम रहेको बताउनुभयो । पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका भट्टराईले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको र यो सरकार देशलाई आर्थिक संकटबाट मुक्त गराउने अभियानमा रहेको बताउनुभयो । एमालले देश र जनताको हितमा काम गर्ने पार्टी भएको उहाँको भनाइ छ ।

    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले उपनिर्वाचनको परिणाम एमालेकै पक्षमा आउने बताउनुभयो । ‘एमाले बलियो शक्ति हो, त्यसैले उपनिर्वाचनमा पनि एमालेले नै बाजी मार्छ, ’उहाँले भन्नुभयो ।

    पार्टीको सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले मिसन–८४ अघि मिसन कार्तिक–१७ गते आउन लागेको बताउनुभयो । उहाँले यो उपनिर्वाचन मिसन–८४ को पनि आधार भएको बताउनुभयो । 
    एमाले सिद्धार्थनगरका उपाध्यक्ष माया कंडेलको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

    बैठकले टोल कमिटी बैठक, वडा कमिटीको विस्तारित बैठक, जनवर्गीय संगठनहरुको बैठक भदौ महिनाभित्रै सम्पन्न गर्ने गरी मिति समेत तोकेको छ । त्यस्तै भदौमै सामाजिक संघ–संस्थाहरुसँग बैठक, मधेशी–मुस्लिम, महिला, युवा–विद्यार्थी भेला, उद्योगी–व्यवसायी, होटल व्यवसायी, साहित्यकार, लेखक, बुद्धिजीविसँग भेटघाटसँग भेटघाट लगायतका कार्यक्रम गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो ।