२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

तिनाउ गाउँपालिकामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

मंगलवार , भाद्र १७, २०८२

  • 694
    Shares
  • 694
    Shares
  • बुटवल, १७ भदौ । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तीव्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ । लामो समयदेखि जोतभोग गर्दै आएका जग्गाको पूर्जा वितरणको प्रक्रिया अन्तरगत निस्सा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । 

    गाउँपालिकाले यसअघि नै भूमिहिन दलित तथा सुकुम्बासीहरुलाई निस्सा वितरण गर्ने काम सम्पन्न गरिसकेको छ । त्यसै गरी छुटफुट भएका घर परिवारहरुलाई आवश्यक कागजातसहित निवेदन दर्ताका लागि ३५ दिने सूचना निकालेर संकलन गर्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

    गाउँपालिकाले उल्लेख गरेको विवरण अनुसार १ हजार ४ सय घरपरिवारले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको रुपमा निवेदन दर्ता गराएको छन् । नेपाल सरकारको नियम अनुसार प्रक्रियामा आएका निवेदनलाई सम्बोधन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपालभित्र परिवारका कुनै पनि सदस्यका नाममा जग्गा जमिन, नगद तथा जग्गा बाहेक अचल सम्पत्ति भए पनि सो प्रक्रियामा समावेश नहुने उहाँले स्पष्ट पार्नुभयो । 

    तिनाउ गाउँपालिका उपाध्यक्ष लालाबहादुर थापाले नेपाल सरकारको कानून भन्दा फरक मापदण्ड जान नसकिने बताउँदै आवश्यक कागजातहरु निवेदनमा पेश गर्न आग्रह गर्नुभयो । पालिकामा निस्सा वितरण एउटा खुट्किलो मात्र भएको बताउँदै उहाँले बाँकी प्रक्रियामा आवश्यक कागजात पेश गर्नेलाई पूर्जा वितरण गर्न सकिने बताउनुभयो । सरकारले बनाएको मापदण्ड सबैले अनुसरण गर्न समेत उहाँले सुझाव दिनुभयो । 

    तिनाउ गाउँपालिकामा हालसम्म २८ जना भूमिहिन दलित रहेका छन् भने भूमिहिन सुकुम्बासीको संख्या १७६ र अव्यवस्थित बसोबासीको संख्या १ हजार ४ सय रहेको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । सारुले प्रशासनिक कामहरुमा समस्या भएमा पालिका तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।